विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री महत मोरक्को प्रस्थान

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री महत मोरक्को प्रस्थान

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन सोमबार मोरक्को प्रस्थान गरेका छन्। 

बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिवी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जना लगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ।

यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ रहेको छ। 

यस अवसरमा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने जनाइएको छ।

त्यसैगरी सोही अवसरमा यूएस एडसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ। अर्थमन्त्री महतले दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने पनि योजना छ।

महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्ने कार्यक्रम पनि छ। त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृश्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्रीले वार्ता गर्ने तालिका छ।

त्यसैगरी विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास सङ्घका उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सीका उपाध्यक्षसँग पनि द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको जनाइएको छ।

असोज २२, २०८० सोमबार ११:०५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।