१० जनाको ज्यान गएपछि इजरायलबाट स्वदेश फर्कन चाहनेहरूको अनलाइनबाट विवरण संकलन गर्दै सरकार

१० जनाको ज्यान गएपछि इजरायलबाट स्वदेश फर्कन चाहनेहरूको अनलाइनबाट विवरण संकलन गर्दै सरकार

काठमाडौं : प्यालेस्टाइनको हमास समूहको आक्रमणमा परि इजरायलमा १० जना नेपालीको ज्यान गएको छ। परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै १० नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

‘दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुखद् निधन भएको छ (नामको सूची छिट्टै सार्वजनिक गरिने) भने ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

साथै सम्पर्कविहिन रहेका एक जना नेपालीको खोजि कार्य भइरहेको जनाइएको छ। मृत्यु भएकाहरूको शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको बताइएको छ।

त्यस्तै दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरूको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन रजिष्ट्रेशनको व्यवस्था गरिने जनाएको छ।

निधन भएका नेपालीहरूको शव फिर्ता गर्न र इच्छुक नेपालीहरूलाई उद्धार गरी स्वदेश फिर्ता गराउन नेपाल सरकारले आवश्यक प्रबन्ध गर्ने बताइएको छ।

साथै सरकारले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध पनि गरेको छ।

असोज २२, २०८० सोमबार ०७:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।