फिल्मको विवादमा 'अनमोल केसी पक्राउने' निर्देशक थापा प्रहरीको फरार सूचिमा
काठमाडौँ : फिल्म खेल्न नमानेको भन्दै अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा जाहेरी दिएका फिल्म निर्देशक सुदर्शन थापा आफैँ प्रहरीको फरार सूचिमा परेका छन्। निर्माताको स्वीकृति नै नलिई डिजिटल राइट्स बेच्ने लगायतको गतिविधि गरेको आरोपमा उनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। उनी भने फरार छन्।
फिल्म प्रसाद-२ को विवादमा उनी सहित तीन जनाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। सो फिल्मका निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघात, एक्सटोर्सन लगायतको आरोपमा थापासहित ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवाल र मिलन श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए।
जाहेरीको आधारमा प्रहरीले अग्रवाललाई शुक्रवार पक्राउ गरेको थियो।
आइतबार अदालतले चार दिनको म्याद दियो अग्रवालको हकमा। प्रहरीले भने उनलाई हाजिर जमानीमा रिहा गरिसकेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आपराधिक विश्वासघातको आरोपमा समातेको अनमोललाई काठमाडौँ परिसरले नै जमानीमा छाडेको थियो।
तर सुदर्शन भने फरार छन्। उनी पक्राउ परेका छैनन्।
प्रसाद-२ का निर्मातामध्येका एक सुवास थापा पनि बैङ्किङ कसुरमा फरार छन्। सोही फिल्मको निर्माता बनाउँछु भनेर केशव पाण्डेसँग ६२ लाख ५० हजार लिएर पछि उनले निर्माता बनाएनन्।
रकम फिर्ता गर्ने भन्दै दिएको चेकको खाता नम्बरमा मौज्दात नभएपछि चेक बाउन्स भएको थियो। पाण्डेको जाहेरीको आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ। तर थापा फरारै छन्।
उनी अस्ट्रेलिया पुगेका छन् भने यता प्रहरीले मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
निर्देशक सुदर्शन थापा पटक-पटक विवादमा आउने पात्र हुन्। हालै फिल्म रावायणबाट उनी विवादमा तानिएका थिए। यस अगाडि नाबालिग बलात्कारको आरोप लागेपछि फरार भएका पल शाहलाई लुकाएको आशङ्कामा प्रहरीले थापालाई बोलाएर सोधपुछ।गरेको थियो। थापासँग प्रहरीले सोधपुछ गरेको भोलीपल्ट पल प्रहरी नियन्त्रणमा आएका थिए।
असोज २२, २०८० सोमबार ०१:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।