सहकारी ठगी अभियोगमा ग्यालेक्सी टिभीमा उपाध्यक्ष कारागार चलान
काठमाडौँ : बचतकर्ताको रकम हिनामिनाको अभियोगमा पक्राउ परेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा पुगेका छन्।
आइतबार थुनछेक बहस सकिएपछि जिल्ला अदालत कास्कीका न्यायाधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले रम्तेललाई थुनामा राख्न आदेश दिएको हो।
सहकारी बन्द गरेको, बचतकर्ताको रकम फिर्ता नगरेको, नियामक निकायको विश्लेषणात्मक प्रतिवेदन लगायतमा टेक्दै रम्तेललाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राख्न आदेश दिएको हो।
रम्तेल ग्यालेक्सी टेलिभिजनका उपाध्यक्ष समेत हुन्। उनी गोर्खा समूहको अध्यक्ष समेत हुन्।
सहकारी ठगीका मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राई भने अझै पक्राउ परेका छैनन्। सहकारी ठगीमा जिबीसहित १९ जना प्रतिवादी छन्। तर रम्तेलमात्र पक्राउ परेका थिए। जिबी ग्यालेक्सी टिभीका अध्यक्ष हुन्।
अदालतमा दायर अभियोग पत्रमा उनीहरूले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ ठगी गरेको दाबी गरिएको छ।
यो समूहले सहकारीको आवरणमा साना बचतकर्ताको रकम हिनामिना गरेको यो मात्र सहकारी हैन। सानोपाइला बचत सहकारीको बचतकर्ताको उजुरीको आधारमा समेत पक्राउ पुर्जी जारी भइसकेको छ।
जिबी समूहका व्यक्तिहरू सात भन्दा बढी सहकारीमा संलग्न देखिएका छन् भने १६ अर्ब बढी रकम जोखिममा छ।
१९ जना प्रतिवादी भए पनि एकजना मात्र पक्राउ परेपछि चलखेलको शंकामा पोखरामा बचतकर्ताहरू नै सक्रिय भएका थिए। उनीहरू जिल्ला अदालत कास्कीमा थुनछेक बहस चलिरहँदा अदालतको गेट बाहिर बसेका थिए।
कास्की प्रहरीले जिबीसहितलाई पक्राउ गर्न स्पेसल टास्कफोर्स खटाएको दाबी गरिरहेको छ। तर टास्कफोर्सको प्रभाव देखिएको छैन।
हर्बो इन्टरनेशनलबाट अबै नेटवर्किङहुँदै उदाएका जिबीले रवि लामिछानेलाई भित्र्याएर ग्यालेक्सी च्यानल खोलेका थिए। रविले बिचैमा टिभी छाडेर राजनीतिमा आए पनि जिबीसँगको सम्बन्ध भने निकटै देखिन्छ।
उनी चितवनमा उम्मेदवार बन्दा सघाउन जिबी निर्वाचनको बेलामा अधिकांश समय चितवनको सौराहामा बसेका थिए।
रवि गृहमन्त्री भएपछि पनि भेटघाट जारी थियो।
असोज २२, २०८० सोमबार ०१:२७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।