दुई ओभरमा तीन विकेट गुमाएको भारतले जित्यो खेल, राहुल र कोहलीको कीर्तिमानी साझेदारी

दुई ओभरमा तीन विकेट गुमाएको भारतले जित्यो खेल, राहुल र कोहलीको कीर्तिमानी साझेदारी

काठमाडौं : आईसीसी विश्वकपको आफ्नो पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ।

२०० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य भेट्टायो।

दुई ओभरमा दुई रन मात्र बनाएर तीन विकेट पतन भइसकेको पारीलाई केएल राहुल र विराट कोहलीले सम्हाले र चौथो विकेटको लागि १६५ रनको साझेदारी गरे।

कोहली र राहुलले एकदिवसीय विश्वकपमा भारतका लागि चौथो विकेटको कीर्तिमानी साझेदारी गरेका हुन्। यसअघि भारतका लागि विश्वकपमा चौथो विकेटको सबैभन्दा ठूलो साझेदारी सन् १९९६ को विश्वकपमा नवजोतसिंह सिद्धु र विनोद काम्बली बीचको १४२ रनको कीर्तिमान तोडेको हो।

विराट कोहलीले ८५ रन बनाउँदा राहुलले अविजित रहँदै ९७ रन बनाए। भारतका रोहित शर्मा, इशान किसान र श्रेयर अय्यर शून्य रनमा आउट भए। हार्दिक पाण्ड्याले अविजित ११ रन जोडे।

अस्ट्रेलियाका जोस हज्लेवुडले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १९९ रन जोड्यो। उसका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रन जोड्दा डेभिड वार्नरले ४१ रनमा आउट भए।

मिचेल स्टार्क २८, मार्नुस लाबुसचेन्ज २७ तथा प्याट कमिन्स र ग्लेन म्याक्सवेलले समान १५–१५ रन जोड्दा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका रविन्द्र जडेजाले तीन, कुलदीप यादव र जसप्रित बुमराहले दुई-दुई विकेट लिँदा रविचन्द्रन अश्विन, हार्दिक पाण्ड्या र मोहम्मद सिराजले समान एक-एक विकेट लिए।

असोज २१, २०८० आइतबार २२:२१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।