इरानका राष्ट्रपतिद्वारा हमास नेतासँग कुराकानी, इजरायलमाथिको आक्रमणको प्रशंसा

इरानका राष्ट्रपतिद्वारा हमास नेतासँग कुराकानी, इजरायलमाथिको आक्रमणको प्रशंसा
फाइल तस्बिर

एजेन्सी : इजराइलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग कुराकानी गरेका छन्।

इरानको सरकारी समाचार समिति इर्नाले थप विवरण उल्लेख नगरी कुराकानी भएको उल्लेख गरेको छ।

‘राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल-नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माील हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गरेका छन्।’

गाजापट्टीलाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजराइलमा व्यापक रकेट हमला गर्दै घुसपैठ गरेका थिए।

इजराइल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा छ सयभन्दा बढी इजराइली मारिएको र हमासले एक सयभन्दा बढीलाई बन्धक बनाएको बताएको छ।

गाजामा पनि कम्तीमा तीन सय १३ मारिएको समाचार छ। इरानले प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारवाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ।

‘यो विजयी कारवाहीले यहुदीहरूको शासनको पतनलाई सहजता र गति दिनेछ तथा यहुदीहरूको आसन्न विनाशलाई पूरा गर्ने प्रतिज्ञा गर्दछ,’ इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार अली अकबर भेलायतीले भने, ’म यो विशाल र रणनीतिक विजयलाई शुभकामना दिन्छु जुन यस क्षेत्रका सबै सम्झौता गर्नेहरूका लागि गम्भीर चेतावनी हो।’

असोज २१, २०८० आइतबार २१:५२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।