अर्थतन्त्र चलायमान बनाउन उपभोक्ताको आत्मविश्वास बढाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउँदै सही बाटोमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित रियल स्टेट व्यवसायी वृहत भेला २०८० लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले सबै मिलेर आम उपभोक्ताको आत्मविश्वास बढाउनुपर्ने बताए।
‘अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक देखिए पनि आम उपभोक्ताको आत्मविश्वास बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन,’ उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन र सही ट्रयाकमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन जरुरी हुन्छ। यसमा अर्थतन्त्रका सबै सरोकारवाला मिलेर अगाडि बढ्नुपर्छ।’
उनले आम उपभोक्ताको कन्फिडेन्स बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन महासंघले यही असोज २५ गते अर्थतन्त्रका सबै सरोकारवाला पक्षलाई भेला गरी प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा वृहत राष्ट्रिय छलफलको आयोजना गर्न गइरहेको जानकारी गराए।
‘अर्थतन्त्रका सबै सरोकारवालाहरू एक ठाउँमा आएर स्पष्ट रोडम्याप नबनाई संकटको समाधान हुँदैन। त्यसका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूको सहभागितामा वृहत आर्थिक बहस सञ्चालन गरी समाधानको रोडम्याप पहिल्याउने प्रयास नेपाल उद्योग वाणिज्य महासंघले थालेको छ। यसमा सबैको साथ र सहयोगको आवश्यकता छ’, उनले भने।
अध्यक्ष ढकालले हालका चुनौति तथा आसन्न संकटबाट व्यवसाय तथा अर्थतन्त्रलाई जोगाउन आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै सरकार र निजी क्षेत्र मिलेर बजारमा माग बढाउने अवस्था सिर्जना गर्नुपर्ने बताए।
निजी क्षेत्रका सुझावका आधारमा नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गरेको उनको भनाइ छ।
असोज २१, २०८० आइतबार २०:४०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।