बुहारी ढिलो उठेपछि सुरू भएको विवादमा सासुको हत्या, तीन दिनसम्म घरकै बाकसमा शव

सुर्खेत : असोज १५ गते बिहान सल्यानको शिद्धकुमाख गाउँपालिका-४ खार्बनकी ४९ वर्षीया गणेशी रोका र उनकी कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीबीच विवाद भयो।
बुहारी शर्मिला ढिलो उठेपछि उनीहरूबीच बिहानै विवाद भयो। त्यो कुरा त्यत्तिकै सेलायो। सोही दिन दिउँसो सासु-बुहारी धान भित्र्याउन घर नजिकैको खेतमा गए। त्यहाँ पनि उनीहरूबीच विवाद भयो। उनीहरू मुखामुख गरे।
दिउँसो तीन बजे घरमा आएपछि पुन: विवाद भयो। बिहानदेखिको विवादको श्रृंखला त्यसबेलासम्म उग्र भयो र बुहारी शर्मिलाले भान्सा नजिकै राखेको चिर्पटले सासु गणेशीको टाउकोमा हिर्काइन्।
टाउकोमा लागेपछि गणेशी छट्पटाइन्। त्यहि बेला शर्मिलाले गणेशीकै टाउकोमा बाँधेको रुमाल निकालेर घाँटीमा तबसम्म बेरिन्, जबसम्म सासु छटपटाउन छाडिनन्। गणेशीको प्राण त्यहिँ गयो।
शर्मिला यतिमा मात्र रोकिइनन्, उनले घरको तल्लो तलाको धान राख्न बनाइएको काठको भकारीमा शव लुकाइन् र घटनाको प्रमाण लुकाउन घरभित्र रहेका रगतका छिटाहरू लिपपोत गरेर नष्ट गरिन्।
गणेशीका कान्छा छोरा एवं शर्मिलाका श्रीमान् २१ वर्षीय अम्मर रोका घटना भएको दिन बिहानै मामाघरमा टिमुर टिप्न गएका थिए भने गणेशीकी कान्छी छोरी स्कुल पढ्न गएकी थिइन्। राति शर्मिलाले आफ्ना श्रीमान् र नन्दले आमा खोइ? भनेर सोध्दा बिहान मकै बारीमा गएको र फर्किएर नआएको बताइन्।
१७ गते गाणेशीका परिवार र माइतीले हराएकोले खोजी पाउँ भन्दै ढोरचौर प्रहरी चौकीमा निवेदन दिएका थिए। घटनाप्रति शंका मानेका आफन्तले १८ गते घरभित्र नै खोजतलास सुरू गरे। सोही बेला आफन्तले घरभित्र कुहिएको जस्तो गन्ध आएको र भकारीमा शव लुकाइएको भन्दै प्रहरीलाई खबर गरे।
खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक गोपालप्रसाद श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेर अनुसन्धान थाल्यो।
प्रहरीले गणेशीको हत्या गरी शव घरभित्रै धान राख्नका लागि काठबाट बनाइएको भकारीमा लुकाएर राखेको फेला पर्यो। प्रहरीको अनुसन्धानबाट बुहारी शर्मिलाले नै सासू गणेशीको हत्या गरेको खुल्यो। असोज १९ गते बेलुकी ६ बजे शर्मिलालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।
घरायसी कामकाजको विषयमा विवाद हुँदा सासुको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक नवीन कार्कीले बताए।
‘खासगरी बुहारी सर्मीला बेला-बेलामा बेहोस् हुने र दौडिने गर्दिरहिछन्। असोज १५ गते पनि शर्मिला बिहान ११ बजे उठिछन्। त्यहि विषयमा सासु गणेशीले काम ठग्ने, बिरामीको बहाना बनाउने भन्दै गाली गरेकी रहिछन्,’ प्रमुख कार्कीले भने, ‘त्यहि विवादले दिउँसो धान माड्न जाँदा त्यसपछि घर आएर पनि झगडा भएछ। त्यहि मौकामा दाउराले हानेर, रुमालको पासोले बेरेर शर्मिलाले हत्या गरिछन्।’
प्रहरीको अनुसन्धानमा शर्मिलाले आफूलाई सधैँ मानसिक तनाव दिएका कारण हत्या गरेको बयान दिएको प्रमुख कार्कीले बताए। उनका अनुसार प्रहरीलाई खबर गर्ने बेलासम्म शव गल्न थालिसकेको थियो। आइतबार जिल्ला अदालत सल्यानले शर्मिलालाई सात दिन थुनामा राखेर घटनाको अनुसन्धान जिल्ला अदालतबाट म्याद पाएको छ।
मृतक गणेशीका तीन छोरा, एक छोरी र दुई बुहारी छन्। दुई छोरा पनि कामको सिलसिलामा बाहिर नै छन्। गणेशीका श्रीमान् तेजबहादुर रोका रोजगारको सिलसिलामा भारत गएका थिए। प्रहरीका अनुसार घटनापछि तेजबहादुर गाउँ फर्किएका छन्।
गत वैशाखमा वनगाड कपिन्डे नगरपालिका-९ सेराकी शर्मिलासँग र गणेशीका छोरा अम्मरले प्रेम विवाह गरेका थिए। प्रेमविवाह गरे पनि उमेर कम देखिएका कारण बालविवाह रहेको प्रहरी प्रमुख कार्कीले बताए।
असोज २१, २०८० आइतबार २०:१८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।