प्रसाद २ लफडा : ओएसआरका सञ्चालकलाई थप चार दिन थुन्न अनुमति, सम्पादक र निर्देशक थापा ‘फरार’

प्रसाद २ लफडा : ओएसआरका सञ्चालकलाई थप चार दिन थुन्न अनुमति, सम्पादक र निर्देशक थापा ‘फरार’

काठमाडौं : फिल्म ‘प्रसाद २’को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाललाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

शुक्रबार निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले दिएको उजुरीका आधारमा अग्रवाल पक्राउ परेका थिए। निर्माता बस्नेतले यसै फिल्मका सम्पादक मिलन श्रेष्ठ र निर्देशक सुदर्शन थापाविरुद्ध पनि उजुरी दिएका थिए।

निर्देशक थापा आफ्नो फिल्ममा अभिनय गर्ने भनेर पछि अभिनय गर्न नमानेको भन्दै अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा गएका थिए। अहिले उनी आफैँ फरार हुन बाध्य भए।  पक्राउ पूर्जी जारी भएपछि थापा र श्रेष्ठ फरार छन्। 

निर्माता बस्नेतका अनुसार आफ्नो स्वामित्वमा रहेको फिल्म ओएसआर र निर्देशक थापाले मनोमानी रूपमा कारोबार गरेकाले उजुरी दिएको बताए। 

आफ्नो मञ्जुरीविना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रूपैयाँ ठगी गरेको भन्दै निर्माताद्वय बस्नेत र श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए।

फिल्म नबन्दै निर्माता फेरिदैको परिणाम
प्रदर्शनपछि मात्र होइन, बन्नुअघि पनि ‘प्रसाद २’ लफडामा परेको फिल्म हो। यसका निर्माता सुवास थापा अहिले पनि फरार आरोपी हुन्। 

फिल्म निर्मातादेखि निर्देशकसम्म फेरिएका थिए यो फिल्मको। फिल्मको अघिल्ला निर्माता थिए सुवास थापा। उनले सुटिङ नहुँदै फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटललाई बेचे। बेचेबापतको उनले नै पैसा लिएको आरोप छ। सम्झौता बमोजिम ओएसआरले फिल्मको गीत युट्युबमा पनि राख्यो।

यता नयाँ निर्माता बस्नेतले फिल्मको डिजिटल अधिकार पाएका थिएनन्। त्यसपछि फिल्मका नयाँ निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठले विदेशमा फिल्म बेचेको र मनोमानी गरेको भन्दै उनले उजुरी दिए।

‘प्रसाद २’ पूर्णतया आफ्नो स्वामित्वमा रहेको तर यसको भोगचलन अरुले नै गरिरहेको निर्माता बस्नेतको आरोप छ। उनले फिल्म रिलिजको बेला समयमै आफूलाई थाहै नदिई विदेशमा बेचेको र ओम अग्रवाललाई पनि युट्युबमा गीत र ट्रेलर नहाल्न भन्दाभन्दै हालेको उनले बताए।

सुटिङमै लफडा परेको फिल्म
यो फिल्मको सुटिङ स्थलमा नै निर्माता, निर्देशक र कलाकारबीच विवाद भएको  थियो। फिल्मको सुटिङका लागि ल्वाङ गाउँमा पुगेका कलाकार र निर्देशकबीच लफडा परेपछि अभिनेता विपिन कार्की र नम्रता श्रेष्ठ रिसाएर काठमाडौं फर्किएका थिए।

लामो समयको लफडा र निर्माता संघमा बसेको बैठकले फिल्म निर्माण नरोक्ने सम्झौता हुँदै छायांकन भयो। फिल्मको सुटिङ सकिएपछि अर्का निर्माता केशव पाण्डेले प्रहरीमा निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरमा उजुरी दिए। 

थापाले पहिला पाण्डेलाई निर्माता बनाउँदै ६२ लाख ५० हजार लिएका थिए। तर पछि उनलाई जानकारी नै नगराई फिल्मको सुटिङ भयो। उनको पैसा समेत फिर्ता आएन। त्यसपछि पाण्डे प्रहरीमा गए। अदालतबाट सुवासको नाममा पक्राउ पुर्जी जारी भयो। उनी फरार भए।

थापा फरार रहेकै बेलामा फिल्म रिलिज गर्न खोजेपछि पुन पाण्डे अदालत गए। अदालतले प्रारम्भमा रिलिज रोकेर दुबै पक्षलाई छलफलमा बोलायो। दोस्रो पटकको बहसमा रिलिज खुल्यो।

फिल्म ब्यापारिक रुपमा सफल भएन। भुमिगत भएका थापा सार्वजनिक भएनन्। उनी अहिले अष्ट्रेलिया पुगिसकेका छन्। यता जिल्ला प्रहरी परिसर काठमाडौँले थापाविरुद्धको उजुरीको आधारमा सरकारी वकिलमार्फत अदालत लैजाने तयारी गरेको छ।

असोज २१, २०८० आइतबार १९:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।