झलनाथ खनाल प्रतिष्ठानको सर्पपालनमा १७ करोड ९८ लाख भ्रष्टाचार, पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा

झलनाथ खनाल प्रतिष्ठानको सर्पपालनमा १७ करोड ९८ लाख भ्रष्टाचार, पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा

काठमाडौं : झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पालन कार्यक्रममा १७ करोड ९८ लाख रुपैयाँ हिनामिना गरेकाे भन्दै अख्तियारले मधेश प्रदेशका पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने कार्यमा अनियमितता गरेको भन्दै तत्कालीन मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार, लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्का, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
    
तत्कालीन मन्त्री विजय कुमारले प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समावेश गराइ उक्त प्रतिष्ठानका लागि बजेट समेत विनियोजन गरेका थिए।

संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि खचृ गरिएको थियो। 

लागत साझेदारी शून्य रहेको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान नेपाललाई सर्प पालनका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा दिएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

अख्तियारले  १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवानासमेत मागदाबी गरेको छ।

असोज २१, २०८० आइतबार १६:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।