इजरायलमा रहेका केही नेपाली हताहत भएको स्थिति हुनसक्छ : परराष्ट्रमन्त्री साउद

इजरायलमा रहेका केही नेपाली हताहत भएको स्थिति हुनसक्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं : सरकारले इजरायलमा भएको आक्रमणमा त्यहाँ रहेका केही नेपाली हताहत भएको हुनसक्ने जनाएको छ।

परराष्ट्रमन्त्री एनपी साउदले यस विषयमा आज (आइतबार) संसदलाई जानकारी दिंदै प्यलेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणमा नेपाली हताहत भएको हुनसक्ने बताए।

‘नेपाली राजदूतावासबाट प्राप्त पछिल्लो जानकारी अनुसार हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरू मध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ,’ उनले भने, ‘बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ।’

उनले इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेका बताए। जसमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए।

साथै उनले यो घटनालाई सरकारले गम्भीरताका साथ लिएको जानकारी दिए।

असोज २१, २०८० आइतबार १३:५२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।