संगीतकार राजु सिंहका प्रिय १० सुर : आशा भोस्लेले ‘नेपालमा पनि यस्तो गीतकार हुनुुहुन्छ र?’ भनेर सोध्नुभएको थियाे
काठमाडौं : संगीतकार राजु सिंह नेपाली संगीत क्षेत्रका विशिष्ट साधक हुन्। सधैँ सुगम र शास्त्रीय संगीतसँगै आाधुनिक संगीतमा उनले आफूलाई विलप्त गराएका छन्। नेपालमा पप जनराको उदय हुँदै गर्दा संगीतकार राजु सिंह ‘प्रतिबिम्ब ब्याण्ड’मा आवद्ध थिए।
उनको सांगीतिक यात्राको सुरुवात यहि ब्याण्डबाट उदय भयो। पछि गायक आनन्द कार्कीले संगीतकार बन्न आग्रह गरेपछि ब्याण्ड छोडेर सोलो संगीत गर्न थालेका थिए सिंहले। नेपाली संगीतका उनै साधक राजु सिंहले आफूलाई प्रिय लाग्ने अरूका पाँच र आफ्ना पाँच गीत यसरी छनोट गरेका छन्।
आफ्ना पाँच
रित्तो सडकमा..
यो गीतले मेरो सांगीतिक यात्रामा पहिलो ‘टर्निङ प्वाइन्ट’ ल्यायो। वसन्त बित्यासी थापाको शब्द लेखनमा यस गीतमा जोनले स्वर भर्नुभएकाे छ। त्यो समयमा पप गीतलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भएर होला याे गीत असाध्यै मनपर्छ मलाई। यो गीत बजारमा आउँदा पप गीतको लहर नै चलेको थियो त्यो बेला। यो गीत अहिले पनि युवापुस्तामा उतिकै सदावहार बनेको छ। सुरूमा त गीतकार वसन्त बित्यासी थापाले यस्तो गीत पनि लेख्नुहुन्छ होला र जस्तै लागेको थियो। त्यति राम्रो छ यो गीत।
फेरि तिम्रो याद आयो
मैले ब्याण्डबाट छुट्टिएर पहिलो पटक सोलो संगीत भरेको गीत हो यो। गायक आनन्द कार्कीले राजु भाइ अब ब्याण्डको मात्र संगीतकार बन्नु हुँदैन समग्र देशकै एक संगीतकार बन्नुपर्छ भनेपछि उहाँको सुझावमा यो गीतमा संगीत भरेको थिए। त्यसकारण मलाई पहिलो पटक एल्बम नै सोलो गर्ने अवसर मिलेको थियो। त्यसकारण पनि यो गीत मलाई मनपर्छ। दिनेश अधिकारीले लेख्नुभएको यो गीतमा संगीत मेरो आफ्नै छ। गीत आनन्द कार्कीले गाउनुभएको छ। एक दशकअघिको समयमा यो गीत निकै चलेको थियो। यही गीतबाट म संगीतकारको रूपमा स्थापित भएको हुँ।
मेरो साथ बिताएका
म पप जनराबाट सांगीतिक दुनियाँमा आएको मान्छे। मैले नेपालमा चलेका अधिकांश पप जनराका गायक गायिकाहरूसँग काम गर्ने मौका पाएको छु। त्यो समयमा मैले नवीन के भट्टराईको स्वरमा ‘मेरो साथ बिताएका यादहरू सबै मेटियो होला’मा संगीत भरेको छु। यो गीतमा भुपेन्द्र निराजनको शब्द रचना छ।
समर्पण एल्बममा समावेश यो गीत अहिले पनि धेरै मान्छेहरूको मन मस्तिष्कमा बसेको छ। पप गीतको समयमा यो गीतले चर्चा कमाएको थियो। यो गीत मेरो र नवीनजी को करियरकै राम्रो गीत पनि भन्न चाहान्छु। यो गीतको एरेन्जर ‘वानमेन आर्मी’ सुनिल बर्देवाले गरेका थिए। यो हरेक असफल प्रेमीहरूका लागि उदाहरण बनेको गीत हो। अहिले पनि यस्तै गीत फेरि कहिले गर्न पाउँछु होला जस्तो लाग्छ।
कति राम्रो अलि अलि ढल्किएको छाँया
स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको यो गीतमा अर्चना बास्तोलाले आवाज भर्नुभएको हो। यो गीत त्यो बेला आरम्भ भन्ने एल्बममा समावेश गरिएको थियो। यो गीत नेपालको सम्पूर्ण कला क्षेत्रको समिश्रण हो जस्तो लाग्छ मलाई। यो गीतमा पूर्वदेखि सुदूरपश्चिमसम्मका संगीत सुन्न सकिन्छ। एउटै शब्दमा दुई वटा मेलोडी बनेको गीत हो यो। यस्तो गीत कम मात्रै बनेका छन् नेपालमा। स्कुलका कार्यक्रममा बज्नेदेखि लिएर बच्चाहरूले नाच्न मन पराउने गीत पनि हो यो। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ।
बचन तोडे कसम नि तोडे
मैले नेपालका सबै गायक गायिकाहरूसँग काम गर्ने मौका पाए। तर, मेरो करियर उठाउनमा अर्का गायक रामकृष्ण ढकालको ठूलो हात छ। किनभने मैले रामकृष्ण ढकालको ‘आश्रय’ एल्बमका केही गीतमा संगीत भर्ने अवसर पाएको थिएँ।
जसमध्ये ‘बचन तोडे कसम नि तोडे’ गीतले एकदमै चर्चा पायो। यो गीत भारतकाे मुम्बईमा रेकर्ड गरिएको थियो। यस गीतमा संगित कोर्डिनेसन गर्ने काम मैले नै गरेको थिएँ। यो गीत रेकर्ड गराउँदा मुम्बईका समकालीन संगीतकारहरूले मलाई यतै बस्नुहाेस्, भन्नुभएकाे थियाे।
उहाँहरूले मेरो कम्पोजिसनको खुब प्रशंसा गुर्नहुन्थ्यो। तर, म यतै आएँ। म नेपाल आएपछि यो गीत जब रेडियोमा बज्यो तब असाध्यै खुसी लाग्यो। यो भन्दा अघि पनि मैले रामकृष्ण ढकालको थुप्रै गीतहरूमा संगीत भरिसकेको थिए। तर, यो बेग्लै खालको र स्रोता दर्शकमाझ छाप छोडेको गीत हो।
अरूका पाँच गीत
सवारी मेरो रेलैमा
यो गीतलाई नेपालकै पहिलो गायिका मेलवा देवी गुरुङले गाउनुभएको हो। यो गीत असाध्यै राम्रो लाग्यो। यो गीत भारतको कलकत्तामा रेकर्ड गर्नुभएको रहेछ। पछिल्लो समयमा यो गीत सुनेपछि यति मन पर्यो कि विश्वस्तरीय गायन जस्तो लाग्यो।
मेलवादेवी जस्तो गायिका हाम्रो देशमा हुनुहुँदो रहेछ। अहिलेको जस्तो प्रविधि नहुँदा पनि साधनाले खारिएको पाए। उहाँले चन्द्र सम्शेरको दरबारमा गायिका हुनु हुँदोरहेछ मैले थाहा पाउँदा। यस गीतका शब्दहरू केलाउँदा यस्तो गायिकाहरू अब कहिले नेपालमा जन्मेलान र जस्ताे लाग्याे। यो गीत मेरो रोजाइको नम्बर एकमा नै पर्ने गरेको छ।
उकाली ओरालीहरुमा
एउटा संगीतकार नभएर एउटा स्रोताका रूपमा यो गीत सुन्दा शब्दअनुसार संगीत भरिएको पाउँछु म। एउटा संगीतकारले शब्दलाई कसरी जीवित राख्नसक्छ भन्ने प्रस्ट्याएको छ यो गीतले। गीतका शब्दहरू गीतमा सुने जस्ताे सजिला छैनन्। नातिकाजीले संगीत भर्नुभएको यो गीत असाध्यै मनपर्नेमध्ये एक हो। उहाँ नेपालकै ठूलो मेलोडी मेकर हुनुहुन्छ। चाँदनी शाहले लेखेको गीतमा नातिकाजीले सरल तरिकाले संगीत भर्नुभएको छ।
पोहोर साल खुशी फाट्दा
मैले यो गीत बलिउड गायिका आशा भोस्लेसँगको भेटमा सुनाएको थिए। उहाँले ‘नेपालमा यस्तो पनि गीतकार हुनुुहुन्छ र?’ भनेर सोध्नुभएको थियो। उहाँ यो गीत सुनेपछि असाध्यै खुशी हुनुभएकाे थियाे। यो गीतको शब्द संगीत र गायन शैली असाध्यै राम्रो छ। त्यस कारण पनि यो गीत मलाई मनपर्छ। राजेन्द्र थापाले लेख्नुभएको गीतमा अम्बर गुरुङले संगीत भर्नुभएको हो। यो गीत सुन्दै गर्दा राजेन्द्र थापा, अरुणा लामा, अम्बर गुरुङको गीत भन्दा पनि मेरो आफ्नै गीत हो जस्तो लाग्छ। यो गीत म आफैँ पनि गुनगुनाइरहेको हुन्छु।
गहिराइमा डुब्दै नडुब
मैले विद्यार्थी जीवनमा धेरै नै गाएँ यो गीत। अहिले पनि उतिकै मनपर्छ। ‘गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोति नटिपी नफर्क’ हरेक मान्छेलाई हारभन्दा पनि जित्न आग्रह गरिएको गीत हो। नीर शाहको शब्द शम्भुजित बास्कोटाको संगीत रहेको छ भने प्रकाश श्रेष्ठले गाउनुभएको छ। मेरो करियरमा पनि प्रकाश श्रेष्ठले धेरै गीत गाइदिएर सहयोग गर्नुभएको छ। प्रकाश श्रेष्ठ यस्तो गायक हुनुहुन्छ कि भारतका संगीतकारहरूले समेत बोलाएर ‘यतै बस्नुस्, नेपाल नजानुस्’ भनेका थिए।
प्रियसीका यादहरू
मलाई नारायण गोपालका थुप्रै गीतहरूमध्ये यो एकदमै मनपर्ने गीत हो। नेपाली गीतहरूमध्ये फरक धारमा बनेकाे छ यो गीत। नेपाली संगीतमा ठूलो परिवर्तन ल्याएको गीत यही हो जस्तो लाग्छ मलाई। यो गीतलाई स्वर सम्राटले कतिसम्म गाउन सक्छ भन्ने उदाहरणका रूपमा लिन सकिन्छ। यो गीतको शब्द र संगीत दिव्य खालिङले गर्नुभएको छ। यो गीतको गायन, शब्द र संगीत सबै विशाल बनेको छ। त्यसकारण पनि मेरा मनपर्ने गीतहरूमा यो पनि पर्छ।
असोज २१, २०८० आइतबार १३:३७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।