महायज्ञमा ‘परदेशी २’ टीमलाई स्वागत तथा सम्मान
काठमाडौं : दशैंको छेको पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा व्यस्त छ।
चलचित्र प्रचारका लागि निर्माण टीमले देशका विभिन्न ठूला शहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौं फर्किएको छ।
निर्माण टीमले यति बेला एकातर्फ काठमाडौंका विभिन्न कलेजमा गीति नाटकमार्फत चलचित्रको प्रचारप्रसार गरिरहेको छ।
अर्कोतर्फ, चलचित्रका कलाकार विभिन्न कार्यक्रमहरूमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपिल गरिरहेका छन्।यसैबीच, चलचित्रका निर्देशक एवं कलाकारहरू शनिवार भक्तजनमाझ प्रस्तुत भएका छन्।
भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले चलचित्रको प्रचारप्रसार गरेका हुन्।
निर्देशक एवं कलाकारहरूलाई त्यहाँ बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो। निर्देशक नारायण रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए।
त्यसपश्चात अन्य सांगीतिक प्रस्तुति समेत दिएका उनले घरघरको कथामा ‘परदेशी २’ बनेको बताउँदै चलचित्र हेर्न अपिल गरेका थिए।
अभिनेता प्रकाश सपूतले चर्चित गीतहरू प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे। उनले ‘परदेशी २’ सामाजिक कथामा पारिवारिक चलचित्र बनेको बताउँदै माया गरिदिन आग्रह गरे।
अभिनेत्रीद्वय केकी र वर्षाले दशैंको फेस्टिभ माहौलमा मनछुने चलचित्र आउँदै गरेको बताउँदै सबैलाई मन पर्ने विश्वास दिलाए।
शनिवार महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए। फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको अनुभव निर्माण टिमको थियो।
वडादशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि बिदेसिने युवा र सन्तान बिदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ।
राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा चलचित्रको निर्माण गरेका हुन् । ८ वर्षअगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङखला ‘परदेशी’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो।
असोज २१, २०८० आइतबार ११:५५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।