इजरायली सेनाले हमासविरुद्ध प्रतीकारात्मक हमला गर्दै, गाजाका बासिन्दालाई घर छोडेर भाग्न आग्रह

इजरायली सेनाले हमासविरुद्ध प्रतीकारात्मक हमला गर्दै, गाजाका बासिन्दालाई घर छोडेर भाग्न आग्रह
तस्वीर– बिबिसी

एजेन्सी : इजरायली सेनाले हमासविरुद्ध प्रतीकारात्मक हमला गर्दैछ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनी लडाकुले ‘कालो दिन’ हुने भन्दै ‘शक्तिशाली बदला’ लिने वाचा गर्दै त्यस आसपासका बासिन्दालाई घर छोडेर भाग्न आग्रह गरेका छन्।

शनिबार प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा दसकौँ यताकै ठूला आक्रमण गरेको छ। आक्रमणमा २५० जनाभन्दा बढी इजरायली नागरिक मारिएका छन् भने, सयौँको संख्यामा घाइते भएको र धेरैलाई बन्धक बनाइएको बताइएको छ।

हमासको आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा हवाई हमला सुरु गरेको र सो क्रममा २३० भन्दा बढी व्यक्तिको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

इजरायली वायुसेनाले गाजा पट्टीमा हमासको सैन्य सुविधा रहेको ठानिएका भवनहरूमा पनि आक्रमण गरेको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रलाई ‘उजाड टापु’ मा परिणत गर्ने भनेका छन्। यसले गाजामा ठूलो आक्रमण हुने सम्भवतः भूमिसमेत कब्जा हुनसक्ने आँकलन गरिएको छ।

यस्तै हमासको आक्रमणमा परी नौ नेपालीसमेत घाइते भएका छन्। तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिबार वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो।

ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन।

असोज २१, २०८० आइतबार ११:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।