एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्ष ओलीद्धारा उद्घाटन गरिने, गृह प्रदेशकै अधिवेशनमा भीम रावललाई छैन निम्तो

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्ष ओलीद्धारा उद्घाटन गरिने, गृह प्रदेशकै अधिवेशनमा भीम रावललाई छैन निम्तो

धनगढी : एमालेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन आजदेखि  सुरु हुँदैछ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार धनगढीस्थित सौराइ ब्यांक्वेटमा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

आइतबार बिहान ११ बजे उद्घाटनको समय तय गरिएको एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए।

उद्घाटन समारोहमा महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख कासीनाथ अधिकारीलगायतका शिर्ष नेताहरु सहभागी हुने प्रदेश अध्यक्ष भण्डारीले बताए। 

अधिवेशनको उद्घाटनमा एमाले सुदूरपश्चिम प्रदेशका सबै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यहरुलाई आमन्त्ररण गरिएकोमा पूर्वउपाध्यक्ष भीम रावललाई भने गृह प्रदेशकै अधिवेशनमा बोलाइएको छैन। 

गृहजिल्ला अछाममा रहेका रावललाई पार्टीले आमन्त्रण नगरेकाले उनी उद्घाटन समारोहमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ। 

एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनका लागि ६ सय ७५ जना प्रतिनिधि छनोट गरिएको छ।  प्रदेशको नेतृत्वको लागि तीन जना दावेदार रहेका छन्। 

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा सङ्घ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैसीले अध्यक्ष पदका लागि दाबी गरेका छन्। 

असोज २१, २०८० आइतबार १०:२३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।