विश्वकप क्रिकेट : पाँच पटकको विजेता अस्ट्रेलियालाई भारतले घरेलु मैदानमा हराउन सक्ला?
एजेन्सी : भारतमा जारी विश्वकप क्रिकेटमा आज (आइतबार) भारत र अस्ट्रेलियाबीच भिडन्त हुँदैछ। खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ।
अस्ट्रेलिया एकदिवसीय (५० ओभर) विश्वकप क्रिकेटको सर्वाधिक सफल टिम हो। सर्वाधिक ५ पटकको च्याम्पियन अस्ट्रेलियाको टिम अहिले पनि सानदार फर्ममा छ। विश्वकप उपाधिलाई यो पटक ६ बनाउने लक्ष्य अस्ट्रेलियाको छ।
उता दुई पटकको विश्वकप विजेता भारत पनि यो पटक घरेलु मैदानको फाइदा उठाउँदै तेस्रो विश्वकप उचाल्ने दाउमा छ। वरियता क्रममा अहिले भारत विश्व नं १ टिम हो भने अस्ट्रेलिया तेस्रो नम्बरमा छ।
भारत र अस्ट्रेलियाबीचको यो खेल जारी विश्वकपकै एक प्रतिक्षारत खेल हो। दुवै टिम आफ्नो पहिलो खेल जित्दै महत्वपूर्ण २ अंक जोड्न चाहन्छन्।
यो पटक विश्वकपमा सहभागी सबै १० टिमले लिग चरणमा सबै टिमसँग एक/एक खेल खेलेपछि शीर्ष चार टिमले सेमिफाइनलमा भिडन्त गर्ने छन्। त्यसैले बलिया टिमसँगको अंक अन्तिम चार प्रवेशका लागि निकै महत्वपूर्ण रहन्छ।
तर अस्ट्रेलियालाई हराउन भारतलाई त्यति सहज नहुने देखिन्छ।
प्याट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियाको टिमको ब्याटिङ लाइनअप निकै बलियो छ। जहाँ डेभिड वार्नर, स्मिथ, मिचेल मार्स, लाबुशेन र म्याक्सवेल जस्ता प्रभावशालि ब्याटर टिममा छन्।
त्यस्तै बलिङमा कप्तान कमिन्ससँगै अनुभवी बलर मिचले स्टार्कसहितको लाइनअप छ।
उता रोहित शर्माको कप्तानीमा रहेको भारतको टिम पनि ब्याटिङ त राम्रो छँदैछ भारतको बलिङ पनि बलियो मानिन्छ। बुमराह टिममा फर्किसकेका छन् भने मोहम्मद सिराज, रविचंद्रन अश्विन, कुलदीप यादव जस्ता खेलाडी टिममा छन्।
ब्याटिङमा पनि रोहित शर्मा, शुभमन गिल, ईशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पांड्या, रवींद्र जडेजा लगायतको लामो सूचि छ।
त्यसैले आजको खेल निकै रोमाञ्चक हुने अनुमान छ। विश्वकप अघिको भारत र अस्ट्रेलियाबीचको ३ म्याचको एकदिवसीय सिरिज भारतले २–१ ले जितेको थियो।
असोज २१, २०८० आइतबार १०:०७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।