विश्वकप : कीर्तिमानले भरिएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

विश्वकप : कीर्तिमानले भरिएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

एजेन्सी : सानदार ब्याटिङसँगै कीर्तिमानले भरिएको खेल जित्दै दक्षिण अफ्रिकाले भारतमा जारी विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ। गए राति दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हरायो।

रेकर्ड, शतक र छक्काको वर्षा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२८ रन बनाएको थियो।

यो विश्वकप इतिहासकै हालसम्मको उच्च योगफलको रेकर्ड हो। जसका लागि ओपनर क्विन्टन डी कक, रास्सी भान डर डुसेन र एडेन माक्ररम गरी तीन खेलाडीले शतक बनाए। 

विश्वकप इतिहासमा एकै खेलमा एउटै टिमका तीन खेलाडीले शतक प्रहार गरेको यो पहिलो पटक हो भने समग्रमा चौथो पटक हो।

माक्रमले भने मात्र ४९ बलमा शतक पुरा गर्दै विश्वकप इतिहासकै सर्वाधिक छिटो शतकको कीर्तिमान बनाएका थिए।

यसपछि जितको लागि ४२९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा ३२६ रनमा अल आउट भयो।

विशाल लक्ष्य भएकाले सुरुवातदेखि नै आक्रामक खेल खेलेको श्रीलंकाका लागि कुशल मेन्डिसले ४२ बलमा ७७ र चरिथ असलंकाले ६५ बलमा सर्वाधिक ७९ रन बनाएका थिए।

त्यस्तै दसुन सनकाले ६८ रन जोडे पनि कीर्तिमानी लक्ष्य पुरा गर्न पर्याप्त भने भएन।

असोज २१, २०८० आइतबार ०७:३७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।