नेपाली गायिका मेनुकाले गीत गाएर रुवाइन भारतीय दिग्गज गायकलाई
काठमाडौं : नेपाल आइडल अनि भारतको सारेगमप।
भजन गाउँदा-गाउँदै मेनुका पौडेल राष्ट्रिय अनि अन्तर्राष्ट्रिय गायन रियालिटी शोको मञ्चसम्म पुगिन्। निर्णायक प्रभावित पनि भए। यात्रा त्यति छोटो पनि भएन। तर, उनको हातमा टाइटल आएन।
टाइटल नआए पनि सार्वजनिक पहिचान बनाइन् उनले। प्रशंसकको सङ्ख्या थपिन। केही समय लाइमलाइटमा पनि बसिन्। तर, फेरि हराइन्।
कहाँ छिन् मेनुका? कसले सोधखोज गर्नु। उनको नाममा आउने भ्युज घटिसकेपछि।
तर, उनी सङ्गीतकै साधनामा थिइन्। एकाएक भारतको प्रतिष्ठित रियालिटी शो सारेगमपको मञ्चमा देखिइन्। कार्यक्रमका निर्णायकहरूलाई प्रभावित पारे पनि यात्रा टुङ्गोसम्म पुगेन।
तर, उनको जीवन बदलियो। पुन लाइमलाइटमा आइन् र उसैगरी हराइन्। हराइन् लामै समय। न सामाजिक सञ्जालमा देखिइन्, न साङ्गीतिक कार्यक्रममा। केही गीत गाइन् पनि, तर चलेनन्।
उनै मेनुका शनिबार भारतको अर्को प्रतिष्ठित मञ्च इन्डियन आइडलको १४औं सिजनको मञ्चमा देखिइन्। देखिइनन् मात्रै श्रेया घोसाल अनि विशाल दद्लानी जस्तो खारिएका गायक उनको स्वरको गुणस्तर सुनेर भावुक भए। कुमार सानु ट्वाल्ल परे।
रियालिटी शोहरूमा देखिने सबै रियल हुँदैनन्। तर, श्रेया र विशाल नौटङ्की गर्ने हदका कलाकार हैनन्।
यी तीन मञ्चमा देखिएकी मेनुका फरक छिन्। नेपाल आइडलमा भन्दा सारेगमपमा निखारिएकी थिइन्। अहिले त थप निखारिएको देखियो गायनमा। उनको गलाको कलाले दुई गायकको आँसु त झार्यो, गोल्डेन माइक नझर्ने प्रश्नै भएन।
असोज २१, २०८० आइतबार ०२:३७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।