श्रीमद्भागवत महायज्ञमा ‘परदेशी २’को प्रचार : नारायण र प्रकाशले भजन गाए, केकी र वर्षाले ताली पिटे

श्रीमद्भागवत महायज्ञमा ‘परदेशी २’को प्रचार : नारायण र प्रकाशले भजन गाए, केकी र वर्षाले ताली पिटे

काठमाडौं : यहि असोज २६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ।

पश्चिमबाट पोखरा हुँदै काठमाडौँ फर्किएको फिल्मको टिमले शनिबार भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेर फिल्मको प्रचार गरेको छ।

फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीले फिल्म प्रचारका लागि त्यहाँ पुगे।

महायज्ञमा फिल्मको टिमलाई बाजागाजा र फूलमालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो। प्रचारको क्रममा निर्देशक रायमाझीले भजनसमेत गाए। भजन सकिएपछि उनले फिल्मबारे चर्चा गरे।

यता अभिनेता प्रकाश सपूतले चर्चित गीतहरू प्रस्तुत गरेर भक्तजनलाई मनोरञ्जन दिलाए। उनको भजनमा भक्तजनले ताली बजाएर स्वागत गरे।

भजनपछि उनले ‘परदेशी २’ सामाजिक कथामा बनेको पारिवारिक चलचित्र भएको बताउँदै माया गरिदिन आग्रह गरे।

फिल्मको प्रचार प्रसारमा कमै निस्किएकी अभिनेत्री वर्षा शिवाकोटी यस पटक भने टिमसँगै हिँडिरहेकी छन्। देश दौडाहमा आफूलाई नलगिएको भन्दै गुनासो गरेकी अभिनेत्री शिवाकोटी यसमा भने सहभागी भइन्।

महायज्ञमामा केकी र वर्षाले दशैंको माहोलमा मनछुने फिल्म आउँदै गरेको र यसलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरे।

महायज्ञमा झण्डै १५ सय भक्तजन उपस्थित थिए। फरक खालका दर्शकमाझ पुग्दा नौलो अनुभूति भएको निर्देशक रायमाझीले बताए।

फिल्ममा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ।

रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको फिल्मले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेशिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ।

राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा फिल्मको निर्माण गरेका हुन्।

असोज २०, २०८० शनिबार २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।