विश्वकप क्रिकेटमा बंगलादेशको विजयी सुरुवात, अफगानिस्तान छ विकेटले पराजित

विश्वकप क्रिकेटमा बंगलादेशको विजयी सुरुवात, अफगानिस्तान छ विकेटले पराजित

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको छ।

१५७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ३४.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टाउँदै छ विकेटले खेल जित्यो।

उसका लागि नजमुल हुसेन सान्तो र म्हेदी हसन मिराजले क्रमशः ४९ रनको अविजित र ५७ रनको पारी खेले।

त्यसअलावा कप्तान सकिब अल हसनले १४, लिट्टन दासले १३ र तन्जित हसनले ५ रनको पारी खेल्दा मुस्ताफिजुर रहीम २ रन बनाएर अविजित रहे।

अफगानिस्तानका फजाहल्लक फारुकी, नवीन उल हक र अज्मतुल्लाह ओमारजाइले समान एक–एक विकेट लिए। अफगानिस्तानले तन्जिनलाई भने रनआउट गरेको थियो।

त्यसअघि धर्मशाला क्रिकेट रंगशालमा टस हारेर पहिला ब्याटिङमा तानिएको अफगानिस्तानले ३७.२ ओभरमा अलआउट हुँदै १५६ रन बनायो।

उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाउँदा अजमतुल्लाह ओमरजाइ र इब्राहिम जद्रानले समान २२-२२ रन जोडे।

रहमत शाह र हसमतुल्लाह शाहिदीले पनि समान १८-१८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकले रन जोड्न सकेनन्।

बंगलादेशका म्हेदी हसन मिराज र सकिब अल हसनले समान तीन-तीन विकेट लिँदा शोरिफुल इस्लामले दुई तथा मुस्ताफिजुर रहमान र टस्किन अहमदले समान एक-एक विकेट लिए।

असोज २०, २०८० शनिबार १६:४४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।