खेल नै नजिते पनि एसियाड पुरुष क्रिकेटको स्वर्ण भारतलाई

खेल नै नजिते पनि एसियाड पुरुष क्रिकेटको स्वर्ण भारतलाई

काठमाडौं : चीनको हान्झाउमा जारी एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटको फाइनल खेल नजिते पनि भारतले स्वर्ण पदक पाएको छ।

वर्षाका कारण फाइनल खेल पूरा नभएपछि वरीयतामा अघि रहेको आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको छ।

वरीयताका आधारमा पछि परेको अफगानिस्तानले भने रजत पदकमा चित्त बुझाएको छ।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाउँदै ११२ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो।

पानी नरोकिएपछि वरीयताका आधारमा भारतलाई विजेता घोषित गरिएको हो।

वर्षाले प्रभावित अर्को खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशले भने कास्य पदक जितेको छ।

डीएलएस मेथडका आधारमा ५ ओभरमा ६५ रन बनाउनु पर्ने लक्ष्य पाएको बंगलादेशले अन्तिम बलमा लक्ष्य भेट्टायो र कास्य जित्यो।

पाकिस्तानले ५ ओभरमा १ विकेट गुमाएर ४८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो।

झरी रोकिएपछि पुन खेल सुरु हुँदा बंगलादेशलाई डीएलएस मेथडका आधारमा ५ ओभरमा ६५ रनको लक्ष्य दिइएको थियो।

असोज २०, २०८० शनिबार १६:२३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।