बझाङमा आज पनि गयो भूकम्प, चार दिनमा १५ झट्का

बझाङमा आज पनि गयो भूकम्प, चार दिनमा १५ झट्का

काठमाडौं : बझाङ केन्द्रविन्दु भएर शनिबार दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ।

शनिबारको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन्। वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।

सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ। स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको सङ्कट टर्ने कोइराला बताउँछन्।

भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो। पाँच दशमलव तीन म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो।

यस्तै, असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौं, ४ बजेर ३१ मिनेटमा छैटौं, पाँच बजेर १९ मिनेटमा सातौं, पाँच बजेर ३८ मिनेटमा आठौं पटक धक्का महसुस भएको थियो।

असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्पन गएको थियो। बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो।

असोज २०, २०८० शनिबार १४:२९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।