हमासले सात हजार रकेट प्रहार गरेपछि इजरायली सेनाले भन्यो, ‘हामी युद्धका लागि तयार छौँ’

हमासले सात हजार रकेट प्रहार गरेपछि इजरायली सेनाले भन्यो, ‘हामी युद्धका लागि तयार छौँ’

एजेन्सी : गाजाबाट इजरायलमा भएको ठूलो हमलापछि इजरायली सेनाले ‘युद्धका लागि तयार रहेको’ बताएको छ।

इजरायलका रक्षामन्त्रीले रिजर्भ सैनिक बोलाउने मागलाई अनुमोदन गरेका छन्। इजरायलको सेना अब आधिकारिक रूपमा ‘युद्धका लागि तयार’को स्थितिमा छ।

यसैबीच इजरायलको सेनाले गाजामा जवाफी हवाई आक्रमण सुरु गरेको बताएको छ। आइडीएफले हमासले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।

इजरायलका रक्षामन्त्रीले हमासले इजरायलविरुद्ध युद्ध गरेर ठूलो गल्ती गरेको बताएका छन्।

रक्षामन्त्री योभ गालान्टले भने, ‘हामासले आज बिहान इजरायल विरुद्ध युद्ध सुरु गरेर ठूलो गल्ती गरेको छ। इजरायली सेनाले जताततै आक्रमणकारीहरूसँग लडिरहेका छन्। इजरायल राष्ट्रले मात्र यो युद्ध जित्नेछ।’

शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको थियो। गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको थियो।

आक्रमणमा परी इजरायलका १४८ जना घाइते भएका छन्। त्यसमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

इजरायलले दर्जनौं लडाकु गाजा सीमा पार गरी देश प्रवेश गरेको बताएको छ। हमासले यस अपरेशनलाई ‘अल अक्सा स्टर्म’ नाम दिएको छ।

हमासका प्रमुख मोहम्मद डेफले यी आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी अपरेशन अल अक्सा फ्लडको सुरुवात घोषणा गर्छौं। एयरपोर्ट र सैन्य आधारहरूमा हाम्रो पहिलो आक्रमण हुनेछ, पाँच हजार भन्दा बढी रकेटहरू प्रहार गरिएको छ।’

त्यसपछि पनि हमासले थप दुई हजार रकेट इजरायलतर्फ प्रहार गरेको बीबीसी संवाददाता रुश्दी अबुअलुफले जनाएका छन्। उनका अनुसार उनले आकाशमा जताततै रकेट उडिरहेको देखिरहेका थिए।

हमासको आक्रमणपछि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले जारी गरेको पहिलो विज्ञप्तिमा भनिएको थियो, ‘गाजा पट्टीबाट धेरै लडाकुहरू इजरायलमा प्रवेश गरेका छन्।’

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘गाजा पट्टी वरपरका क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। हामी आफ्नो रक्षा गर्नेछौँ।’

असोज २०, २०८० शनिबार १४:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।