बुटवल-नारायणगढ सडकको दुरावस्था हेर्न चौराह गए पुग्छ (तस्बिरहरू)
बुटवल : बुटवल-नारायणगढ सडकको दुरी जम्मा ११४ किलोमिटर हो। अहिले बुटवलबाट नारायणगढ पुग्न कम्तीमा पाँच घण्टा लाग्छ। दुरीको हिसावले जम्मा २ देखि अढाइ घण्टाको यात्रा हो यो।
निर्माणधीन सडकका कारण बुटवल-नारायणगढ सडकमा यात्रा गर्ने यात्रुले सास्ती खेपिरहेका छन्। यात्रुमात्र यसबाट पीडित बनेका छैनन्। सडक किनारका जनता अनि यातायात व्यवसायी पनि यसबाट आजित बनेका छन्। सडककै कारण सवारी साधनको आयु छोटिँदै गएको छ।
पानी पर्दा हिलाम्मे अनि घाम लाग्दा धुलाम्मे हुन्छ यो सडक। सडककै कारण बुटवलबाट बसमा काठमाडौं जानेहरू नाक खुम्च्याउँछन्। सडकको दुरावस्था अनि पहिरोको जोखिमकै कारण धेरै यात्रुहरू महंगो शुल्क तिरेर पनि हवाई यात्रा गर्न बाध्य छन्।
दशैं-तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा मध्यपश्चिम र सुदूरपश्चिम जानेहरूले बुटवल-नारायणगढ सडक पार नगरी सुख्खै छैन। गत वर्ष पनि हिलाम्मे सडकका कारण सास्ती व्यहोरेका यात्रुहरूले अहिले पनि सास्ती व्यहोर्नुपर्ने निश्चित छ।
समयमै काम सम्पन्न भएको भए यो सडक २०७८ साउन २२ मै चिल्लो र फराकिलो हुन्थ्यो। तर, ठेकेदारको लापरबाहीका कारण सडकको कामको गति सुस्त भएको छ।
बुटवल-नारायणगढ सडकको अवस्था कस्तो छ भनि जान्न बुटवल तर्फ राजमार्ग गए मात्र पुग्छ। पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त पर्ने बुटवल-नारायणगढ सडक जब सिद्धार्थ राजमार्गमा जोडिन्छ तब असली सडकको दुरावस्था चौराहमा देखिन्छ।
चौराहदेखि पूर्वतर्फ मुटु अस्पतालसम्म पुग्दा पनि सडकको खास अवस्था देख्न सकिन्छ। ठूला खाडल, हिलो, धुलो, पानी जमेका पोखरी अनि नालीको निर्माण अस्तव्यस्त छ। सर्भिस बाटोको क्षेत्रअधिकारभित्र डोजर चलाए पनि समथर बनाइएको छैन।
घर अगाडि नै पोखरी बनेका छन्। यसले राजमार्ग किनारका व्यवसायीहरू आजित छन्। दाउन्ने, कावासोती तर्फका कतिपय त सडक किनारका व्यवसायी विस्थापित पनि भइसकेका छन्।
‘सडक बनाउन डोजरले पिढिँसम्मै उदिन्यो। नालीका लागि स्काभेटर लगायो। तर, पनि काम तीव्र हुन सकेको छैन। घर अगाडि नै पानी जम्दा हैरान भइसक्यौँ’, देवदहका अर्जुन रानाले भने।
गैँडाकोट-दाउन्ने सडक खण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको ७ अर्ब ८६ करोड ३४ लाखको लागतमा सडक स्तरोन्नत्तिको काम चाइना कन्स्टक्सनले चार वर्षअघि ठेक्का पाएको थियो। तर, काम सुस्त गतिमा हुँदा सबैले सास्ती व्यहोर्नु परेको छ।
२०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्दा सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिना भित्र अर्थात २०७८ साउन २२ गतेसम्म काम सम्पन्न गर्ने भनिएको थियो। तर काम सम्पन्न भएन। पछि थप भएको म्याद २०८० साउनमा सकियो। त्यसपछि ०८१ साउन सम्मको म्याद थप भएको छ।
आयोजनाका अनुसार दुई खण्डमा विभाजन भएको सडकको काम पश्चिम भन्दा पूर्वमा धेरै भएको छ। हालसम्म दाउन्ने पूर्व खण्डमा ४३ प्रतिशत र दाउन्ने पश्चिम खण्डमा ३८ प्रतिशत काम भएको छ। त्यस्तै, खर्चको हिसाबले पूर्वमा ३१ प्रतिशत र पश्चिममा २४ प्रतिशत भएको छ।
बुटवल-नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा यो सडक विस्तार गरिएको छ। चाइना स्टेटको तर्फबाट पश्चिम सेक्टरका कन्ट्याक म्यानेजर जोयु हेयुले अबको डेढ बर्षमा सडक निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको बताए।
सवारी धनी भन्छन्- सडककै कारण गाडीको आयु छोटो भयो
अहिले पनि बुटवल नारायणगढ हुँदै काठमाडौंका लागि स्तरीय बसहरू छुट्छन्। सोफा सहितका नाइट बसमा त टिकट पाउन समेत मुस्किल छ। करोडौं लगानी गरेर सडकमा सवारी गुडाएका सवारी धनी सडककै कारण सवारी साधनको आयु छोटो भएको बताउँछन्।
त्यस बाहेक सडककै कारण सवारी साधन छिटो मर्मत गर्नुपर्ने समस्या, डिजेलको अधिक खपत र चालक तथा यात्रुले सास्ती पाउने गरेका छन्।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल एउटा सवारीलाई काठमाडौं पठाउँदा सडककै कारण व्यवसायीले किस्ता तिर्नसमेत नसकेको बताउँछन्।
‘सग्लो गाडी काठमाडौं पठाएपछि फर्केर आउँदा कुन अवस्थामा रहन्छ भन्ने पत्तै छैन। एक पटक काठमाडौं पुगेपछि सर्भिस गर्नैपर्छ। चालक, सह चालक खर्च, इन्धनको खर्च सबै कटाउँदा सवारी धनीले बैंकको ब्याजसमेत तिर्न गाह्रो छ’, उनले भने।
उनले सडककै कारण धेरै यातायात व्यवसायीले धेरै आर्थिक क्षति व्यहोर्नुपरेको बताए।
‘पहिले ८० लिटर इन्धन खर्च हुने दुरीले अहिले बाटोका कारण १४० लिटर खान्छ। बाटोका कारण अनावश्यक इन्धनको क्षति व्यहोर्नुपरेको छ’, उनले थपे।
उनले बाटोकै कारण नयाँ गाडी एक वर्षमै ध्वस्त भएको बताए। पहिले पाँच वर्षसम्म केही नहुने पाटपुर्जा अहिले एक वर्षमै बिग्रन्छ।
असोज २०, २०८० शनिबार ०८:४७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।