कैद मिनाहाबारे रिगलको दाबी- ‘राष्ट्रपतिले माफी दिएको हैन, कैद कट्टा भएको हो, चेतन मेरै भाइ हो’

कैद मिनाहाबारे रिगलको दाबी- ‘राष्ट्रपतिले माफी दिएको हैन, कैद कट्टा भएको हो, चेतन मेरै भाइ हो’

काठमाडौं :  रकम असुलीको विवादमा खुँडाले हानेर चेतन मानन्धरको हत्या गरेको आरोपमा जेल परेर हालै रिहा भएका रिगल ढकालले आफूले माफी नपाई कानुन अनुसार कैद कट्टा भएर जेलबाट रिहा भएको दाबी गरेका छन्।

२०७५ साल अगाडिको मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि नियम अनुसार कैद कट्टाको सिफारिस भएमा रिहा हुने नियम अनुसार आफू छुटेको तर राष्ट्रपतिले कैद माफी दिएको भनेर गलत प्रचार गरिएको उनले दाबी गरे।

सूत्र टिभीमा प्रसारित अन्तर्वार्तामा उनले भने, ‘आठ वर्ष २ महिना जेलमा बसेर कानुन अनुसार रिहा भएको हुँ।’

उनले चेतन मानन्धर आफ्नै संरक्षणमा बसेको भाइ भएको दाबी गर्दै आफूले हत्या नगरे पनि अदालतबाट दोषी ठहर भएको दाबी गरे।

२०७२ असार २८ गते आफू सिचाई कार्यालयबाट बरुवानालामा काम गरिरहेको दाबी गर्दै बस व्यवसायी समितिको काउन्टरमा विवाद हुँदा अन्य केटाहरूले आक्रमण गरेको दाबी गरे।

'चेतन मानन्धर मेरो कति नजिक थियो कसैले बुझ्नै चाहेन। म जिममा एक्सरसाइज गर्दा उसले कुरेर बस्थ्यो' उनले भने।

चेतनले अन्तर्जातीय विवाह गर्दा परिवार र समाजले बहिष्कार गर्दा आफूले नै उनीहरूलाई सेटल गराउन सहयोग उनको दाबी थियो।

भारती शेर्पाले अहिले अर्कैसँग विवाह गरेको र आफ्ना विरोधीको बहकाउमा लागेर विरोधमा उत्रिएको उनको दाबी थियो।

हत्यारालाई फुलमालासहित स्वागत गर्न त्यत्रो भिड कसरी आयो भन्ने प्रश्न गर्दा उनी केही झोक्किँदै हत्यारालाई नभई आफ्नो दाइ अनि परिवारको सदस्यलाई स्वागत गर्न आएको दाबी गरे।

बाबु जेल परेको भनेर छोराले थाहा नपाओस् भनेर आठ वर्षसम्म छोरालाई नभेटेको तर रिहा भएपछि सामाजिक सञ्जालभरि आफ्नो बारेमा आउँदा छोरालाई मानसिक प्रभाव परेको भन्दै उनले टिकटक बन्द गर्न सञ्चार मन्त्रीसँग आग्रह गरेका थिए।

‘उनीहरूले आक्रमण गरेको गर्यै गर्ने। तर हामी चैँ चुप लागेर बस्नु पर्ने?’ उनले भने, ‘अब हामीले केही गर्यो भने गुन्डा भनिदिन्छन्।’ 

संविधान दिवसको दिन कैद मिनाहा पाएर रिगल रिहा भएपछि सरकारको निर्णयको विरोध भइरहेको छ। उनलाई रिहा गराएको विरोधमा सर्वोच्चमा रिट परेपछि अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ।

असोज २०, २०८० शनिबार ०१:०७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।