सुन तस्करीका २५ प्रतिवादी पुर्पक्षमा, एक जनालाई पाँच लाख धरौटी

सुन तस्करीका २५ प्रतिवादी पुर्पक्षमा, एक जनालाई पाँच लाख धरौटी

काठमाडौँ : विभिन्न उपकरणमा राखेर तीन सय बढी सुन तस्करी गरेको अभियोग लागेका २५ जना नेपाली र चिनिया पुर्पक्षका लागि थुनामा गएका छन्।

जिल्ला अदालत काठमाडौँले शुक्रवार थुनछेक आदेश सक्काउँदै पक्राउ परेकाको हकमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले २६ मध्ये रुक्मिना सुब्बासँगमात्र ५ लाख धरौटी माग्यो। २९ जना प्रतिवादी बनाइएकोमा तीन जना फरार उल्लेख थियो।

हङकङबाट आएको ब्रेकशुमा सुन फेला परेपछि पहिला राजश्व अनुसन्धान विभाग र पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो।

राजनीतिक तहका व्यक्तिलाई नमुछी प्रस्तावित राय सुझाव बुझाएपछि  प्रहरीको अनुसन्धान नै सन्देहमा परेको थियो। फेस सेभिङका लागि प्रहरीले दोस्रो तहको अनुसन्धान गर्ने दाबी गरे पनि हालसम्म कुनै प्रगति देखिएको छैन।

प्रहरीको प्रतिवेदन अनुसार
भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। मुद्दाको बिगो ३ अर्ब ५० करोड २ लाख रुपैयाँ कायम भएको थियो।

शुक्रवारको आदेशअनुसार
चिनियाँ नागरिक एलेक्स भन्ने याओ पुचेङ, लि वेन सुङ, लि नेंकाइ, दिंग सेग्फा, लिन चछयाङ, भारतीय नागरिक टासी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक याङ वेन, र टियान मी पुर्पक्षमा कारागार पुगेका छन्।

नेपाली नागरिक कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलीप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठ पनि कारागार चलान भए। भोला साह सोनार, जीवन चलाउने र अमला रोका फरार प्रतिवादी हुन्।

असोज १९, २०८० शुक्रबार २३:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।