निजी क्षेत्रले दिने सुझाव समग्र अर्थतन्त्रको हितमा छन् : महासंघ अध्यक्ष ढकाल

निजी क्षेत्रले दिने सुझाव समग्र अर्थतन्त्रको हितमा छन् : महासंघ अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका सुझाव निजी क्षेत्रका मात्र नभएर समग्र अर्थतन्त्रको हितमा रहने गरेको बताएका छन्।

बुटवल उद्योग वाणिज्य संघको ७०औं वार्षिक साधारण सभालाई शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले समग्र व्यवसाय, अर्थतन्त्र र आमजनतालाई हित हुने गरी अनुभव र अनुसन्धानमा आधारित भएर सरकार तथा यसका निकायहरूलाई सुझाव दिँदै आएको बताएका हुन्।

‘तर सरकार र त्यसका निकायले ती सुझावलाई निजी क्षेत्रको व्यक्तिगत सुझावजस्तै ठान्ने गरेको र उपेक्षा गरी समाधानका लागि आवश्यक कदम नचालेको अनुभव निजी क्षेत्रले गरेको छ,’ उनले भने।

उनले उत्पादन, रोजगारी, सरकारको राजश्वका साथै समाजका कतिपय कल्याणकारी कार्यहरू समेत निजी क्षेत्रले सञ्चालन गरेका व्यापार व्यवसायकै सफलतामा निर्भर रहने भएकाले सरकार तथा नियामक निकायहरूले निजी क्षेत्रका सुझाव तथा मागहरूलाई गम्भीर रूपमा समीक्षा तथा सम्बोधन गर्नु आवश्यक रहेको बताए।

उनले हालका चुनौति तथा आसन्न संकटबाट व्यवसाय तथा अर्थतन्त्रलाई जोगाउन आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै सरकार र निजी क्षेत्र मिलेर बजारमा माग बढाउने अवस्था सिर्जना गर्नुपर्ने बताए।

उनले समग्र अर्थतन्त्र कठीन मोडमा आइपुगेको यो अवस्थामा अब सरकार र निजी क्षेत्र एउटै मञ्चमा उभिनु आवश्यक रहेकोले निजी क्षेत्रको तर्फबाट महासंघले यही असोज २५ गते वृहत राष्ट्रिय विमर्शको आयोजना गर्न लागेको बताए।

असोज १९, २०८० शुक्रबार १८:४३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।