दीपकका एघार लोक-आधुनिक गीत करोड क्लबमा

दीपकका एघार लोक-आधुनिक गीत करोड क्लबमा

काठमाडौं : संगीतकार दिपक शर्माका युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएका ११ वटा आधुनिक, लोकपप गीतहरूको संग्रह लोकार्पण गरिएको छ।

शुक्रबार अनामनगरमा एक कार्यक्रमकाबीच संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षत्री र शर्मा आफैँले ‘दिपक शर्माका संगीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू’ गीति एल्बम सार्वजनिक गरेका हुन्।

करोड क्लबका गीतहरूमा ‘पिरिम नलाउने’, ‘छैन मलाई’, ‘छुट्टिएर तिमीसँग’, ‘बालखैमा दिन बस्यो’, ‘ए है माया’, ‘अर्को जुन खै कुन्नी’, ‘फूल फुलेको बन’, ‘ओकल दोकल’, ‘सिल्की कपाल’ र ‘आयौ चेली’ समावेश छन्। यसमा समावेश भएका गीतमा ६ वटा शर्मा आफैँले लेखेका गीतहरू हुन्।

यसमा अहिलेसम्मको सर्वाधिक १० करोड भ्युज पाउनेमा ‘पिरिम नलाउने’ रहेको छ। गीतलाई शर्माले नै लेखेका हुन् भने स्वर मेलिना राई र आशिष सचिनको छ।

कार्यक्रममा संगीतकार शर्माले बुवा काठमाडौं आएको मेसो पारेर बिमोचन गराउन पाउँदा असाध्यै खुशी लागेको बताए।

‘अरु समय गीत विमोचन गराउने समय मिल्दैन थियो’, उनले भने, ‘बुवा बिरामी भएर काठमाडौं आउनु भएको मौकामा बुबाकै हातबाट गीति एल्बम विमोचन गर्ने जमर्को गरेको हुँ र गरियो पनि।’

असोज १९, २०८० शुक्रबार १७:१२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।