कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना शून्य

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना शून्य

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि शनिबार विश्वासको मत लिँदैछन्। 

सर्वोच्च अदालतको परमादेशपछि गत भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका एमाले संसदीय दलका नेता कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन बिहिबार देखि सुरु भएको हो। 

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शनिबार विश्वासको मत लिने तयारी गरेको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। 

उनलाई एमालेका सांसदबाहेक अरु कसैको साथ छैन। यसअघि एमालेलाई साथ दिँदै आएको राप्रपाले समेत कार्कीलाई मत नदिने भएको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले यस पटक कार्कीलाई विश्वासको मत नदिने बताइसकेका छन्। 

राप्रपाले साथ दिँदा समेत बहुमत जुटाउन नसक्ने अवस्थामा रहेका मुख्यमन्त्री कार्कीले राप्रपाले समेत मत नदिएको अवस्थामा बहुमत पाउने सम्भावना शून्य भएको हो। 

विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमुक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा रहेको छ।

असोज १९, २०८० शुक्रबार १७:०३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।