भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

बझाङ : बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्।

त्यस्तै, प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बनाएर १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गरिने उनले बताए।

भुकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु भएका परिवारलाई तत्काल दुई लाख रुपैयाँ समेत उपलब्ध गराइने उनले उल्लेख गरे।

प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्याएका घरहरूको अवलोकन गरेका थिए।

गत मंगलबार २ पटक आएको भूकम्पले एक जनाको मृत्यु र घर तथा भवनमा क्षति पुर्याएको थियो।

असोज १९, २०८० शुक्रबार १६:१५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।