जापानी केन्द्रीय बैंकका पूर्वगभर्नरले भने- ‘चुनौती भए पनि नेपालमा आर्थिक वृद्धिको ठूलो सम्भावना छ’

जापानी केन्द्रीय बैंकका पूर्वगभर्नरले भने- ‘चुनौती भए पनि नेपालमा आर्थिक वृद्धिको ठूलो सम्भावना छ’

काठमाडौं : जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन्।

काठमाडौंको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका हुन्।

१० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै पूर्वगभर्नर कुरोदाले यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको जनाए।

‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु, तर यहाँ आर्थिक विकसको अझै प्रचुर सम्भावना छ’, उनले भने।

नेपालको अर्थतन्त्रका तीन क्षेत्र मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै उनले यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने जिकिर गरे।

पत्रकार सम्मेलनका क्रममा उनले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने बताए। जापानमा कूल ग्राहस्थ उत्पादन (जीडीपी) र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उनको भनाइ छ।

‘जापानको चालु खाता ठूलो नाफामा छ। यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ,’ उनले भने, ‘मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ। ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ।’

पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुशी भएको जनाए। उनले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको उल्लेख गरे।

उनले राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरुको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरुलाई परिचालन गर्नुपर्ने जिकिर गरे।

असोज १९, २०८० शुक्रबार १६:०३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।