भारतीय पुरुष क्रिकेट टोली एसियाडको फाइनलमा, बंगलादेशमाथि कीर्तिमानी जित
काठमाडौं : भारतीय पुरुष क्रिकेट टोली १९औं एसियाली खेलकुद (एसियाड)को फाइनलमा प्रवेश गरेको छ।
९७ रनको झिनो लक्ष्य पाएको भारतले ९.२ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै फाइनल प्रवेश गर्यो।
नौ विकेटले खेल जित्दा भारत र बंगलादेशबीचको टी-२० खेलमा अर्को कीर्तिमानसमेत बनेको छ। दुवै टिमले बनाएको रनको योगफल १९३ सबैभन्दा न्यून हो।
यसअघि भारत र बंगलादेशबीच बंगलादेशको मिरपुरमा भएको खेलमा दुवै टिमको रन जोड्दा २४२ रन बनेको थियो। यो नै अहिलेसम्मको सबैभन्दा कम रनको योगफल थियो।
तर, शुक्रबारको चीनमा भएको खेलमा दुवै टिमको रनको योगफल १९३ मात्र भएपछि यसअघिको कीर्तिमान तोडिएको हो।
९७ रनको लक्ष्य पछ्याउने क्रममा भारतका लागि कप्तान ऋतुराज गायकवाड र तिलक वर्माले अविजित रहँदै क्रमशः ४० र ५५ रन बनाए।
नेपालविरुद्ध शतकीय पारी खेलेका यशस्वी जयवाल ४ बलमा एक रन पनि नबनाइ आउट भए।
बंगलादेशका रिप्पोन मोन्डलले एक विकेट लिए।
त्यसअघि चीनको हाङझाओस्थित झेझियाङ युनिभर्सिटी अफ क्रिकेट फिल्डमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो।
उसका लागि परवेज हुसेन इमोनले २३, राकिबुल हसनले १४ र जाकर अलीले अविजित रहँदै २४ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
भारतका साइ किशोरले तीन, वासिङ्गटन सुन्दरले दुई तथा अर्शदीप सिंह, तिलक वर्मा, रवि विश्नोई र शाहजाद अहमदले समान एक–एक विकेट लिए।
भारतले अब ११ः४५ मा हुने पाकिस्तान र अफगानिस्तानबीचको विजेतासँग स्वर्ण पदकको लागि शनिबार भिड्नेछ।
असोज १९, २०८० शुक्रबार १०:१३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।