टासिइरहेपछि प्रकाश सपुतले उत्सवलाई कार्यक्रममै भने, ‘डन्ट टच मि’

टासिइरहेपछि प्रकाश सपुतले उत्सवलाई कार्यक्रममै भने, ‘डन्ट टच मि’

काठमाडौं : युट्युबर उत्सव रसाइलीको लैङ्गिकता रहस्यमा छैन। उनी आफैँले सार्वजनिक रूपमा भनिसके, ‘आमा मेरो विवाह गर्न केटी खोज्दै हुनुहुन्छ तर म केटासँगै विवाह गर्छु।’

अर्थात् उनी समलिङ्गी हुन्।

समलिङ्गीबारे नेपाली समाज अझै खुल्न सकेको छैन। लैङ्गिक अल्पसङ्ख्यक पनि सहजताका साथ आफ्नो पहिचान खुलाउन हच्किन्छन् नै। तै पनि उत्सवले आफू समलिङ्गी पुरुष भएको लुकाएनन्।  उनले साहस गरेकै हुन्।

तर हरेक लिङ्गीले अर्को लिङ्गीप्रति गर्ने व्यवहारमा उनी चुक्दा आफ्नै कार्यक्रममा आलोचित व्यवहार गरे।

'रमाइलो छ' नामक युट्युब च्यानलमा उनले हिजोआज 'रमाइलो विथ उत्सव' नामक कार्यक्रम चलाउँछन्। प्राय मनोरञ्जन क्षेत्रका कलाकार बोलाएर मनोरञ्जनको प्रयास गर्छन्। कुनैमा अलि अपाच्य व्यवहार पनि गर्छन्।

फिल्म ‘परदेशी-२’को प्रमोसनमा व्यस्त अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटी अनि डेब्यु नायक प्रकाश सपुत उनको अतिथि थिए हालै।

उनको कार्यक्रममा निजात्मक प्रश्न सामान्य नै हो। व्यवहार पनि निजात्मक बनाउन खोज्दा समस्या हुन्छ कहिलेकाहिँ। कार्यक्रमको अन्तिम सेगमेन्टको र्यापिड फायरमा उनले प्रकाश सपुतप्रति त्यस्तै व्यवहार देखाए।

होस्टतिरै उभिए पनि प्रकाश गेस्ट थिए उनको। तर, उत्सवले दुरीको नियम पालना गरेनन्। उनी अधिकांश समय प्रकाशसंग टाँसिएरै उभिए। ‘जिन्दगी नै दिन चाहन्छु’ जस्ता द्विअर्थी कुरा गरे। यतिसम्म त प्रकाश सपुतले सहेकै देखिए।

टाँसिने अनि हात लगाइराख्ने उनको व्यवहारले दिक्क देखिए प्रकाश अनि कार्यक्रममै भने, ‘डन्ट टच मि।’
उत्सवले तत्काल 'सरी' भनेर माफी मागे।

प्रकाशको मुहारको भावले देखाइरहेको थियो उनी उत्सवको व्यवहारले खुसी छैनन्। उत्सवको व्यवहार पनि न लैङ्गिक मैत्री देखिएको थियो न अतिथि मैत्री। 

असोज १८, २०८० बिहीबार २३:५६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।