टिकटक लगायतका सामाजिक सञ्जालमा उश्रृंखल नृत्य र अश्लील गीत प्रस्तुति बन्द गर्न प्रतिष्ठानको आग्रह
काठमाडौं : लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले सामाजिक सञ्जालमा अश्लील तथा अमर्यादित प्रस्तुति नदिन आग्रह गरेको छ।
बिहीबार विज्ञप्ति निकालेर प्रतिष्ठानले लोक तथा दोहोरी गीतका नाममा हुने अश्लील तथा अमर्यादित प्रस्तुति बन्द गर्न भनेको हो।
पछिल्लो समय दोहोरी साँझ, विभिन्न चाडपर्वका उत्सव समारोह तथा टिकटक लगायतका सामाजिक सञ्जालहरूमा नेपाली लोक तथा दोहोरीगीत प्रयोग गरी प्रस्तुत गरिएको भद्दा एवं उश्रृंखल नृत्य तथा दृश्यप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठानले जनाएको छ।
लोकगीत तथा लोकदोहोरी विशिष्ट र मौलिक कला भएको स्मरण गराउँदै प्रतिष्ठानले लोक तथा दोहोरी गीतको क्षेत्र पूर्ण रूपमा विकृति र विसङ्गतीरहित हुनुपर्ने समेत बताएको छ।
केहि दिनयता सामाजिक सञ्जालमा लोक तथा दोहोरी गीतका नाममा अश्लील भिडियो तथा गीतहरू आउन थालेपछि प्रतिष्ठानले विज्ञप्ति निकालेर कलाकारहरूलाई सचेत गराउनुपरेको प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिइन्।
असोज १८, २०८० बिहीबार १९:४२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।