सुब्बाबाट कृष्णहरि बनेका डाक्टर बरालका हिजोका कुरा : लोकबहादुरको भजन सुनेर मात्र राजा वीरेन्द्र काठमाडौं फर्किए
नेपाली सांगीतिक दुनियाँमा बेग्लै पहिचान बनाएका साहित्यकार तथा गीतकार हुन् प्रा.डा कृष्णहरि बराल। ७० वर्षको उमेरमा पनि उनी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई पढाइरहेका छन् भने गीत पनि लेखिरहेका छन्।
वि.सं.२०१० सालमा सिन्धुलीको हतपते (हाल दुधौली नगरपालिका)मा जन्मिएका बराल एक बहिनी र दुई दाजुभाइमा जेठो हुन्। उनी जन्मिएको ६ वर्षमै आमाको निधन भयो। हजुरबा–हजुरआमाको काखमै हुर्किए उनी। कृष्णहरिको घरमा रामायण लगायतका किताबहरू थिए, साँझ बिहान घरमा हजुरबुवा र बुवाले पढ्ने गर्थे। उनी भने ध्यान दिएर सुन्थे। यसैको प्रभावले आफूलाई पढाइमा प्रेरित गर्यो।
गाउँकै कमला अपर प्राइमरी स्कुलमा कक्षा ७ सम्मको अध्ययन गरेर बाँकी अध्ययनका लागि जनकपुर झरे। त्यहिँबाट एसएलसी र ब्याचलर सकेर जागिरको सिलसिलामा काठमाडौं आएपछि मामा पर्ने बद्री दाहाललाई भेटे उनले। मामाले नै मन्त्रालयले नेपाली शिक्षक मागिरहेको जानकारी दिएपछि त्यसको भोलिपल्टै मन्त्रालय हानिए र अन्तरवार्ता दिए अनि जागिरे पनि भए।
पढाउँदै पढ्दै गरेका उनले पछि त्रिभुवन विश्विद्यालयको प्राध्यापक भएर पढाए भने आफूले पनि पीएचडीसम्मको अध्ययन गरे। उनी अहिले अवकाशप्राप्त जीवन बिताइरहेका छन्।
भेडा हेर्न जान्छस् भनेर स्कुलमा भर्ना
‘मेरो आमाको निधन हुँदा ६ वर्षको थिएँ। आमाको निधन भए पनि मलाई आमाको त्यति न्यास्रो लागेन,’ उनले भने, ‘म हजुरबा र हजुरआमासँग नै बस्थेँ। उहाँहरूसँगै सुत्थेँ। आमाप्रति जति हुनुपर्ने माया त्यो कहिल्यै भएन।’
आमाको निधनपछि बुवाले कान्छी श्रीमती विवाह गरे पनि आफूमाथि सौतेनी व्यवहार नभएको उनी बताउँछन्। बुवाले पनि आफूलाई असाध्यै माया गरेको उनी सम्झन्छन्। बुवाले भेडा हेर्ने बहनामा विद्यालयमा भर्ना गरेको उनी अझै सम्झन्छन्।
‘एक दिन मलाई बुवाले भेडा हेर्न जान्छस्? भन्नुभयो। मैले सोच्दै नसोची हुन्छ भनेँ, उहाँले स्कुल लैजानुभयो,’ उनले सम्झिए, ‘बुवाले किन त्यसो गर्नुभो थाहा छैन, सायद स्कुल जाऊँ भन्दा मान्दैन भनेर त्यसो भन्नुभएको हो कि!’
बुवाले शिशु कक्षामा लगेर भर्ना गरिदिएपछि आफ्नो विद्यालय जीवन सुरू भएको उनी सम्झन्छन्।
‘मैले एकै दिनमा क देखि ज्ञ सम्म लेख्न सिकेँ। तर, मलाई घ लेख्न निकै अप्ठ्यारो लाग्यो। खै किन हो कुन्नी! महाभारत नै हुन्थ्यो’, उनी बाल्यकाल सम्झन्छन्।
त्यो समयमा विद्यालयमा कम पढेका शिक्षक हुने भएकाले भारतबाटसमेत शिक्षक ल्याइने उनी बताउँछन्। त्यस्ता शिक्षकले नेपाली बोल्न नजानेर हिन्दी मात्रै बोल्ने गरेको उनी सम्झन्छन्।
उनी भन्छन्, ‘स्कुलमा पढाउने एक जना सर भारतबाट आएका थिए, नाम थियो गुञ्जेश्वर सिंह। नेपाली बोल्न नजान्ने, हिन्दी मात्रै बोल्थे।’
ती भारतबाट आएका शिक्षकले उनको नाम समेत फेरिदिएका रहेछन्। उनको नाम पहिला ‘सुब्बा’ थियो रे। स्कुल भर्ना भएपछि शिक्षक गुञ्जेश्वरले सुब्बा पनि कहिँ नाम हुन्छ भनेर कृष्णहरि राखिदिएछन्। त्यसपछि उनको नाम कृष्णहरि नै रह्यो।
घरैमा गीतसंगीतको माहोल
‘हाम्रो घरमा गीतसंगीतको माहोल थियो। पढ्ने र लेख्नेको जमात त थियो नै। गीत गाउने, मादल बजाउनेको भिड नै हुन्थ्यो,’ उनले बाल्यकाल सम्झिए, ‘गाउँमा एक जना लोकबहादुर क्षेत्री हुनुहुन्थ्यो। उहाँ भजन गाएर रातभर नथाक्ने।’
क्षेत्रीको भजन राजा वीरेन्द्र सिन्धुली भ्रमण जाँदा सुनेको कृष्णहरि बताउँछन्।
‘आज क्षेत्रीले भजन गाउँदैछ है भनेपछि गाउँभरिका मान्छेहरू भेला हुन्थे। त्यो बेला मलाई पनि भजन गाउन मन लाग्थ्यो। अलि अलि गाउँथे पनि,’ उनले सम्झिए, ‘राजा वीरेन्द्र सिन्धुली भ्रमणमा जाँदा पनि लोकबहादुरको भजन सुनेर फर्किएका थिए।’
उनका अनुसार यो समयमा उनले कविता लेखेर स्कुलमा नै पुरस्कार पाइसकेका थिए। अरुले हिन्दी कविता सुनाएका थिए भने उनले नेपाली ‘नेपाल जाँदा सुनकोसी उर्लिन्छ’ भनेर लेखेका थिए। त्यो मौलिक भएको हुनाले प्रथम भए।
‘म रातभरि बालन, श्लोक गाउन सक्थेँ भने रामायण पनि मजाले पढ्न सक्थेँ,’ उनले भने, ‘बुवाले अञ्चल, जिल्लाहरू पनि श्लोक हालेर गान भन्नुहुन्थ्यो। छन्द मिले पनि नमिले पनि म बनाएर गाइहाल्थेँ र नाच्थेँ पनि।’
हिन्दीमा पढाइ, विषयपिच्छेका शिक्षक देख्दा दङ्ग
गाउँमा सात कक्षासम्म पढेपछि काकाले उनलाई ८ कक्षा पढाउन जनकपुर लगे। गाडीको सुविधा नभएकाले हिँड्दै ढल्केवरसम्म पुगे उनी। त्यहाँबाट भने मोटर चढेर जनकपुरमा झरे। पहिलोपटक गाडी चढ्दा अचम्म लागेको उनले सुनाए। उनी यतिमा मात्र चकित परेनन्, जनकपुरमा विषयपिच्छेका शिक्षक देख्दा झन् जिल परे।
‘जनकपुरको स्कुलमा नेपाली, अंग्रेजी र केहि विषय बाहेक अधिकांश हिन्दी भाषामा किताबहरू पढाइ हुन्थ्यो,’ उनले स्मरण गरे, ‘शिक्षक पनि विषय अनुसारको फरक–फरक। सिन्धुलीमा त एउटै शिक्षकले सबै पढाइरहेको, त्यहाँ त विषय अनुसारको फरक–फरक शिक्षक देखेपछि म चकित भएँ।’
कृष्णहरिलाई सबै विषय सजिलो लागे पनि बीजगणित र ज्यामिती भने गाह्रो लाग्ने रहेछ। तर, घोकेरै भए पनि पास गरेछन्। उकेरासँगको कुराकानीमा उनले त्यो समयमा घोकेको ज्यामितीका सुत्रसमेत उनले सुनाए। ९ र १० कक्षामा कृषि विषय लिएर पढेका उनले २०२६ सालमा एसएलसी दिए अनि घर आए।
‘त्यो समयमा गोरखापत्र र कुनै सञ्चारमाध्यम रिजल्ट हेर्ने सुविधा थिएन। परीक्षा दिएर घर आएको कति दिनमा रिजल्ट आएछ,’ उनले भने, ‘पछि के भयो त रिजल्ट भनेर जनकपुर जाँदा त सेकेण्ड डिभिजनमा पास भइसकेको रैछु।’
कृष्णहरि कक्षा ११ मा जनकपुरकै रामस्वरूप रामसागर कलेजमा भर्ना भए। उनले त्यहाँ अर्थशास्त्र, नेपाली र मनोविज्ञान विषय लिए। बीएमा भने उनले विषय परिवर्तन गरेर नेपाली, संस्कृति र राजनीतिशास्त्र पढे। गणितमा कमजोर छु भन्ने लागेपछि कक्षा ११ मै गणित भएको विषय नै नपढेको उनले स्मरण गरे।
कृषि विकास बैंकमा जागिर खाने लोभ
उनी २०३३ सालमा कृषि विकास बैंकमा जागिर खाने सुरले नेपाल (काठमाडौं) आएका थिए। काठमाडौं आउँदा उनका बुवाले बद्री दाहाल मामा पर्नेलाई भेट्नु भन्ने कुरा गरेका थिए।
सोही बमोजिम दाहाललाई भेटे। उनले के विषय पढेको रे भनेर सोधे। उनले निर्धक्क नढाँटी नेपालीमा बीए गरेको सुनाए। उनलाई बद्रीले ‘स्कुल पढाउने हो?’ भनेर सोधे। उनले हुन्छ भने।
बद्रीले तत्काल जिल्ला शिक्षा अधिकारीलाई फोन गरे र नेपाली पढाउने शिक्षक खोज्नुभएको हैन? मैले भेटेको छु पठाइदिन्छु भने। उता अधिकारीबाट आजै पठाइदिनु भन्ने कुरा आयो तर, उनले भोलिपल्ट मात्रै जान्छु भने।
भोलिपल्ट उनी हाजिर हुनका लागि कीर्तिपुर हाइस्कुलमा निम्न माध्यमिक विद्यालयमा पढाउन गए। उनले त्यहाँ निमावि पढाउन गएका थिए। तर, त्यहाँ ८, ९ र १० कक्षालाई नेपाली पढाउनुपरेको उनले सुनाए।
अस्थायी शिक्षकमा पढाइरहेका बेला उनलाई स्थायी शिक्षकका रूपमा ल्याबोरेटरीमा कुरा गरियो। उनले स्थायी भएर ल्याबोरेटरी स्कुल कीर्तिपुरमा नै पढाउन थाले। उनलाई जागिर कत्ति पनि चित्त बुझिरहेको थिएन।
कलेजमा पढाउन अफर आएपछि स्थायी जागिर छाडेर करारमा महेन्द्ररत्न क्याम्पस ताहाचल हानिए। त्यसपछि उनी त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसमा पढाएर प्राध्यापकको रूपमा अवकास पाए।
‘मेरो सोच यसरी प्रोफेसर हौँला भन्ने नै थिएन। म पढाउँछु भन्ने पनि थिएन। जीवन पढाएर नै बित्यो’, उनले भने।
उनको सोच सेक्सन अफिसरमा जागिर खाने रहेछ। उनले ल्याबरेटरी स्कुलमा जागिर खाँदै गर्दा सेक्सन अफिसरको जागिरका लागि परीक्षा दिएर पास पनि भएका थिए। तर, अन्तरवार्तामा आफूलाई वैकल्पिकमा राखिदिएको उनले सुनाए।
‘मैले जे गरे ठिकै गरे जस्तो लाग्छ। सेक्सन अफिसर भएको भए सिडियोसम्म हुन्थेँ होला,’ उनले भने, ‘यता प्रोफेसर भए पनि फाइन आउटका पिएचडीका विद्यार्थीलाई पढाइरहेको छु।’
असोज १८, २०८० बिहीबार १९:२३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।