चिकित्सकको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

चिकित्सकको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड
फाईल फोटो

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताए ।

जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेशाको सुरक्षा, हित र वृद्धिविकासमा सरकार सचेत र गम्भीर रहेको उनको भनाई थियो।

‘यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ।’, उनले भने, ‘स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ।’

दिक्षान्त समारोहका अवसरमा प्रतिष्ठानमा अध्ययन गरेका स्नातकोत्तर र  स्नातकका गरी कुल पाँच सय ४१ जना विद्यार्थी दिक्षित भएका छन्। 

दीक्षित विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप र दक्षताले देशको स्वास्थ्य क्षेत्रमा गुणात्मक प्रगति हासिल गर्नका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले दीक्षित दक्ष र ऊर्जाशील प्राविधिक जनशक्तिबाट देशको दूरदराजसम्मका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए। 

संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उनले बताए।

नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा परिभाषित गर्दै जनताको निशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको उनले स्मरण गराए। 

गरिब र विपन्नका लागि सबै किसिमका अस्पतालले दश प्रतिशत बेड उपचार सहित निशुल्क गर्नुपर्ने उनको धारणा थियो।

असोज १८, २०८० बिहीबार १७:३७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।