सर्वोच्चले सरकारसँग माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण

सर्वोच्चले सरकारसँग माग्यो रिगलको कैद मिनाहा गर्नुको कारण
फाईल फोटो

काठमाडौं : सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्।

बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि सर्वोच्चले आदेश गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको छ। 

रिगलले २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए।

त्यही अभियोगमा गुण्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो। 

तर,राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा उनको भुक्तान हुन बाँकी कैद मिनाहा गरेका थिए।

पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन्। 

असोज १८, २०८० बिहीबार १७:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।