नेपाल एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङ शुल्क अन्यको तुलनामा धेरै भएको उड्डयन प्राधिकरणको दाबी गलत

नेपाल एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङ शुल्क अन्यको तुलनामा धेरै भएको उड्डयन प्राधिकरणको दाबी गलत

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ सेवा) सेवा शुल्क अन्यको तुलनामा चर्काे भएको भनेर गरेको दाबी झुठो भएको पाइएको छ।

पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले गठन गरेको ‘नेपाल वायुसेवा निगम संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ ले बुझाएको पूर्ण प्रतिवेदनमा प्राधिकरणको दाबी तर्क गलत भएको बताएको छ।

प्रतिवेदनमा लेखिएको छ, ‘निगमको भूमिस्थ सेवा शुल्क दक्षिण पूर्व एसियामा सबैभन्दा महँगो रहेकोले भूमिस्थ शुल्क घटाउने निर्देशन निगमलाई दिइएको तर्क प्राधिकरणका महानिर्देशकले यस समिति समक्ष पेस गरेका थिए। सो विषयमा दक्षिणपूर्व एसिया क्षेत्रमा विमानस्थलमा लागू गरिएका भूमिस्थ शुल्क अध्ययन गर्नुपर्ने आवश्यकता समितिले गर्यो। दक्षिण पूर्व एसियाको भूमिस्थ सेवाको तुलनात्मक शुल्कमा नेपालको महँगो रहेको पाइएन।’ 



प्रतिवेदनमा थप प्रष्ट पार्दै उल्लेख गरिएको छ, ‘प्रत्येक वर्ष ३ प्रतिशतले उपभोक्ता मूल्य बमोजिम वृद्धि भूमिस्थ सेवा शुल्क दक्षिण पूर्व एसियाका देशमध्ये कोलालम्पुरमा सबैभन्दा कम ए-३२० को लागि ११४६.२ डलर र ए-३३० को लागि १६०६.० का अतिरिक्त रात्रीकालीन सेवा शुल्क लाग्ने व्यवस्था छ। बैंककको पनि नेपाल र दोहाबीच आपसी सम्झौता अनुसार समान शुल्क) भन्दा कम देखिएको छ। तर त्यहाँ यात्रु ओसार पसार लगायतका सेवामा थप शुल्क लाग्ने व्यवस्था छ। कोलम्बो, सिंगापुर र हङकङमा नेपालको भन्दा बढी शुल्क र अन्य सर्तहरू भएको देखिन्छ।’ ती सर्तहरू नेपालमा छैन। 

समितिले दिएको सुझावमा भूमिस्थ सेवा सञ्चालनका लागि निगमले ठूलो धनराशि लगानी गरिरहेको र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पनि थप लगानी गर्नुपर्ने भएकाले निगमलाई नै दिनु उपयुक्त हुने सुझाव दिएको छ। साथै यो शुल्क घटाउनु भन्दा पनि पुनरावलोकन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

‘२०७० सालकै दरभाउमा अहिलेसम्म संचालन भइरहेको भूमिस्थ सेवा शुल्क घट्दा निगमको आर्थिक अवस्था कमजोर हुने देखिन्छ। दक्षिण पूर्वी एसियाका कतिपय देशका विमानस्थलहरूमा लिइने भूमिस्थ सेवा शुल्कभन्दा निगमको भूमिस्थ सेवा शुल्क कम देखिएको छ।’ 

निगमले २०७० सालमा ग्राउन्ड ह्यान्डलिङ दरभाउ तोकी कार्यान्वयन गरेपछि उक्त दरभाउको पुनरावलोकन नभएको प्रति महालेखा परीक्षक प्रतिवेदनहरूमा असन्तुष्टि व्यक्त हुने गरेको छ।

यसरी ग्राउन्ड ह्यान्डलिङको दरभाउको पुनरावलोकन गरी सयम सापेक्ष बनाउन नसक्दा निगमले ठूलो आम्दानी गुमाइरहेको तर्फ ध्यान जानुपर्ने सिफारिस महालेखा परीक्षकको प्रतिवेदन २०७८ मा उल्लेख छ।

महालेखा परीक्षक प्रतिवेदनको उक्त सिफारिस विपरीत प्राधिकरणले मिति २०७१/०३/०५ मा निर्णय गरी २०७१/५/१६ बाट लागू हुने गरी भूमिस्थ सेवाको शुल्क घटाउने निर्देशन निगमलाई दिएको प्रतिवेदनको ठम्याइ छ। प्राधिकरणको त्यो निर्णय कार्यान्वयन हुँदा करिब वार्षिक १६ प्रतिशत भन्दा बढी रकम निगमले गुमाउने देखिन्छ।

प्राधिकरणको त्यो निर्देशनले निगमको आर्थिक स्थितिमा नकारात्मक असर पर्ने हुँदा पुनरावलोकनको लागि निगमले प्राधिकरणसँग अनुरोध गरेको तर प्राधिकरणले कुनै निर्णय नगरेको उल्लेख छ। 

ग्राउण्ड ह्याण्डलिङ शुल्क घटाउँदा निगमको आय मात्र होइन प्राधिकरणको आय र मूल्य अभिवृद्धि करवापतको राजस्व पनि घट्ने देखिन्छ। विमानस्थल शुल्क नियमावली २०५८ अनुसार प्राधिकरणले भूमिस्थ सुविधावापत आर्जन गरेको कुल आयको न्यूनतम् १५ प्रतिशत रकम निगमबाट दिंदै आएको छ।

निगमको आ.व. २०७८/७९ मा कुल रु १६.०४ अर्ब आम्दानीमध्ये भूमिस्थ सेवाबाट रु ३.१८ अर्ब अर्थात् करिब १९.८५ प्रतिशत आर्जन गरेको थियो। निगमको लागि भूमिस्थ सेवा राम्रो आर्जनको स्रोत हो।

आर्थिक वर्ष २०७१/८० वैशाख महिनासम्मको तथ्याङ्कअनुसार आर्जन घटेर १२.७३ प्रतिशतमा सीमित भएको छ। यो  तथ्याङ्कको आधारमा निगमको भूमिस्थलबाट आर्जन हुने रकम झन घट्ने देखिने प्रतिवेदनमा उल्लेख छ। 

निगमले भूमिस्थ सेवा प्रदान गरेवापत असुल गर्ने अन्य वायुसेवा कम्पनीहरूबाट शुल्क २०७२ बाट प्रचलनमा रहेको रकमलाई २०७९ मा प्राधिकरणको निर्देशन अनुसार घटाइएको व्यवहारिक नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ।

असोज १८, २०८० बिहीबार १३:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।