विमानस्थलको जग्गा आफ्नो नाममा गराएका मिश्र : ३१ वर्षमा लिए नेपाली नागरिकता, भारतीय नागरिक भनेर स्थानीयले गरेका थिए विरोध

विमानस्थलको जग्गा आफ्नो नाममा गराएका मिश्र : ३१ वर्षमा लिए नेपाली नागरिकता, भारतीय नागरिक भनेर स्थानीयले गरेका थिए विरोध

बुटवल : भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र पर्खालभित्र पर्ने जग्गा आफ्नो नाममा दर्ता गराएका पर्वतराज कान्त मिश्रले ३१ वर्षको उमेरमा नेपाली नागरिकता लिएको खुलेको छ।

भारतको गोरखपुरमा बस्दै आएका उनले २०६३ सालको टोलीबाट १७ वर्षअघि नेपाली नागरिकता लिएको खुलेको हो।

उनले सिद्धार्थनगर नगरपालिका-५ मा खटिएको टोलीबाट नागरिकताको प्रमाणपत्र लिएको उनको कागजात हेर्दा देखिन्छ। उनको नागरिकताको प्रमाणपत्रमा २०६३ फागुन ६ गते नागरिकता प्रदान गरिएको उल्लेख छ। 

नागरिकता प्राप्त गरेपछि स्थानीय वरिष्ठ नारायण त्रिपाठीले पर्वतराज कान्त भारतीय नागरिक भएको भन्दै नागरिकता बदर गर्न जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए। त्यो बेला भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै स्थानीयले समेत चर्को विरोध गरेका थिए। 

तर, तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले भारतमा जग्गा जमिन नभएको, मतदाता नामावलीमा नपरेको र नगरपालिकामा स्थायी बसोबास गरेको भन्दै २०६५ माघ १५ मा पर्वतराज कान्तको नागरिकता सदर गरेका थिए।

नागरिकता नेपाली पाए पनि पर्वतराज कान्त अहिले पनि भारतको गोरखपुरमा बस्दै आएका छन्। नागरिकता बनाएपछि पर्वतराज कान्तले आफ्ना बाबु जगदीश कान्त मिश्रसहित परिवारका चार जना सदस्यको एकै दिन मृत्यु भएको प्रमाणपत्र पनि लिएको पाइएको छ।

उनले सिद्धार्थनगर नगरपालिकाबाट २०६४ पुस १० मा एकै दिन चारै जनाको मृत्यु दर्ताको प्रमाणपत्र लिएका थिए।

सुर्जा मिश्राईनसँग कसरी जोडिन्छन् पर्वतराज?

भारतको गोरखपुरकी सुर्जा मिश्राईन सिद्धार्थनगर-१० मा बस्थिन्। यही बस्ने क्रममा उनले जग्गा जमिन समेत जोड्दै गइन्। मिश्राईनको २०२२ सालमा ३० बिघा १४ कठ्ठा १४ धुर जमिन थियो। तर, भूमि सम्बन्धी ऐन २०२१ अनुसार ११ बिघा बढी जमिनमा हदबन्दी लाग्ने भएपछि उक्त जमिन मिश्राईनको नाममा दर्ता भएन।

त्यसपछि उनले मालपोत फाँटवारी भरेर हदबन्दीभन्दा बढी जमिन मन्दिरको नाममा जाने भनिन। २०२५ माघ १८ गते मिश्राईनको मृत्यु भयो। उनको मृत्युपछि हकदावी गर्न रमाकान्त मिश्र आए। उनी पनि गोरखपुरमै बस्थे।

जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतको फैसला पछि २०६४ सालमा मालपोतले रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय गरेको थियो।

तर, त्यसबेला साविक भुजौली नक्सा सिट नम्बर ९ (ख) का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ। मालपोतले निर्णय गरे पनि जमिन नाममा नजाँदै रमाकान्तको २०६४ मंसिर २२ मा मृत्यु भयो।

उनको मृत्युपछि नजिकको हक खाने नाति पर्वतराज कान्त मिश्रको नाममा भुजौली ९ (क) र (ख) का गरी २४ वटा कित्ताका हदबन्दीभित्र पर्ने १० बिघा ६ कठ्ठा १९ धुर जमिन नाममा दर्ता भयो।

मिश्राईनका ३० बिघा १४ कठ्ठा १४ धुर जमिन मध्ये १३ बिघा १३ कठ्ठा ८ धुर जमिनमा मोही कायम भएको र काली मन्दिरलाई ६ बिघा जमिन दिएपछि बाँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो। आफ्नो नाममा आएको जमिन मिश्रले विभिन्न मितिमा बिक्री गर्दै गएको देखिन्छ।

बिक्री गरेर बाँकी रहेको १ बिघा १ कठ्ठा जमिन पनि विमानस्थल बन्दा अधिग्रहणमा परेपछि उनले मुआब्जा लिएका थिए। अहिले आएर हदबन्दी भनेर मन्दिरलाई छाडेको जमिन मिलोमतोमा मिश्रको नाममा गरिएको छ।

यदि मिश्रले मुआब्जा पाए भने करिब ९ करोड रुपैयाँ पाउँछन्। यही ९ करोड हत्याउन मालपोतदेखि भूमाफियासम्म सक्रिए भएको देखिन्छ।

हाल यो विषयमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान गरिरहेको छ। त्यस्तै प्रशासन कार्यालयले मालपोत कार्यालय रुपन्देहीलाई जग्गा व्यक्तिका नाममा दर्ता भएको बारे १० प्रश्नसहितको स्पष्टीकरण समेत सोधेको छ।

सम्बन्धित समाचार:

असोज १८, २०८० बिहीबार ०८:५१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।