हत्या गरे जिम्मा लिन्छु भन्ने आचार्य श्रीनिवासको पृष्ठभूमि, धार्मिक दङ्गा फैलाउन आफैँलाई गोली हान्न लगाएका थिए

हत्या गरे जिम्मा लिन्छु भन्ने आचार्य श्रीनिवासको पृष्ठभूमि, धार्मिक दङ्गा फैलाउन आफैँलाई गोली हान्न लगाएका थिए

काठमाडौँ : २०७४ चैत २५ मा विराटनगर महानगरपालिका– १४ स्थित जतुवामा गोली लागेर श्रीनिवास आचार्य घाइते भए। जतुवाको रामजानकी मन्दिरमा हुने श्रीमद् भागवत सप्ताहमा उनी कथा भन्न उनी सुनसरीको चरकघर्तिबाट आएका थिए।  

उनको बायाँ कुममा गोली लाग्दा घाइते भए। बिहान दुई बजेतिर शौचालयका लागि निस्कँदा उनलाई गोली लागेको थियो। घटनास्थलमा मङ्गोल आर्मीको नामको पर्चा फेला परेको थियो।

उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो। धार्मिक गुरुको हत्या प्रयास भएको भन्दै विरोध सुरु भयो। प्रहरीले घटनाको अनुसन्धान सुरु गर्यो।

चैत २५ गते उनलाई गोली हान्न संलग्न रहेको आरोपमा जब राजनकुमार यादव र विनोद दास पक्राउ परे घटनाले अर्कै मोड लियो।

जिल्ला प्रहरी कार्यालय मोरगंले यी दुबैलाई पक्राउ गरेपछि आचार्यको खोजी सुरु भयो। उनी लुकेर बस्न थाले। २४ वैशाखमा आएर आचार्य काठमाडौँमा पक्राउ परे। उनी भारतको दिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको बेलामा प्रहरीले पक्राउ गरेर मोरगं नै लग्यो। पीडित उल्टो समातिएपछि विरोध हुने नै भयो। अनि प्रहरीले उनी पक्राउ पर्नुको रहस्य खुलायो।

उनलाई गोली हानेर हत्या गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका दुवै जना उनकै चेला भएको मात्र खुलेन प्रहरी अनुसन्धानमा श्रीनिवास आफैँले आफैँलाई गोली हान्न लगाएको समेत खुल्यो।

त्यो बेलासम्म उनी फाट्टफुट्ट चर्चामा आइरहेका थिए। गोली लागेपछि हेडलाइन बने। प्रहरी अनुसन्धानमा उनले आफूलाई गोली हान्न लगाएर त्यसलाई धार्मिक रङ्ग दिएर धार्मिक दङ्गा फैलाउने योजना बनाएको खुलेपछि प्रहरीले पक्राउ गरेर उनीमाथि अवैध हातहतियार तथा खरखजानाको आरोपमा हिरासतमा राख्यो। अन्य दुई जनामाथि हत्या प्रयासको आरोप लाग्यो।

श्रीनिवास नाम राखेका दिनेश पण्डित भन्नेले हिन्दु राज्य बनाउने अभियानलाई चर्काउन आफ्नै अङ्ग रक्षकलाई गोली हान्न लगाएको देखिएको भन्दै उनी केही समय पुर्पक्षमा झुम्का कारागारमा बसे। पछि पाँच हजार धरौटीमा छुटेका थिए।

आफूलाई फसाइएको दाबी गरे पनि उनी चर्चाभन्दा बाहिरै रहे। गौहत्याको विरोधमा धर्मको आडमा राजनीति गर्ने सङ्गठन सक्रिय भएसँगै उनी पुन सक्रिय भए।

धार्मिक सङ्गठनको नाममा हुने प्रदर्शनमा सहभागी हुन थालेनन् मात्रै खुकुरी सोझ्याउँदै जसले गौहत्या गर्छ त्यसको हत्या गरे पाप नलाग्ने भड्काउ भाषण गर्न थाले।

धनुषामा आयोजित कार्यक्रममा हातमा खुकुरी नचाउँदै उनले 'जसले गाई काट्छ त्यो व्यक्तिलाई खुकुरी लिएर गएर काटिदिनुस्। तपाईँलाई दश वर्षसम्म जेलमा पाल्ने काम म गर्छु' भनेका थिए।

गौहत्या प्रकरणले अशान्त बनेको धरान क्षेत्र बल्ल शान्त भएको बेलामा श्रीनिवासले दिएको भड्काउ भाषण सामाजिक सञ्जालमा भाइरल भयो।

काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो र प्रादेशिक ब्युरोले वराहक्षेत्रमा रहेको आश्रमबाट उनलाई पक्राउ गर्यो।

असोज १७, २०८० बुधबार १८:३४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।