राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबीच भेटवार्ता

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको भ्रमणमा रहेका अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ।

बुधबार तिमिल्सिनाको कार्यकक्षमा भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अष्ट्रेलियाबीच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे।

अष्ट्रेलियाले नेपालको समाजिक–आर्थिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलियामा ६० हजार भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र अष्ट्रेलियामा १ लाख २२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएका कारण नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट प्रयास गर्न आवश्यक रहेको बताए।

भेटमा अष्ट्रेलियाका सभामुख डिकले नेपालका प्रदेश सभाका सभामुख र उपसभामुख अष्ट्रेलियामा संघीयताको  अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकोमा खुसी व्यक्त गरे।

उनले अष्ट्रेलियाले संघीयता कार्यन्वयनका क्रममा हाँसिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुने विश्वास व्यक्त गरे।

सभामुख डिकले नेपालसँग रहेको सुमधुर सम्बन्धलाई अझै उचाईमा पुग्ने विश्वास व्यक्त गर्दै संसदीय अनुभव आदनप्रदानबाट नेपालको संघीयतालाई मजबुद बनाउन सहयोग पुग्ने बताए।

असोज १७, २०८० बुधबार १३:४५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।