गुण्डा नाइके ‘रिगल’ विरुद्धको रिटमा बिहीबार सर्वोच्चमा पेशी

गुण्डा नाइके ‘रिगल’ विरुद्धको रिटमा बिहीबार सर्वोच्चमा पेशी

काठमाडौं : बाँकेको नेपालगन्जका गुण्डा नाइके योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइका लागि भोलि बिहिबार पेशी तोकिएको छ। 

२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा गुण्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो।

तर,राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा गुण्डा नाइके रिगलसहित छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका थिए।

चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राख्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। 

पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाको माग छ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन्।

श्रीमान्को खुँडा प्रहार गरि दिनदहाडै हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध भारतीले अनशन  समेत सुरु गरेकी छन्।

माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताएकी छन्।

असोज १७, २०८० बुधबार १३:३४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।