इटालीमा बस दुर्घटना हुँदा दुई बालबालिकासहित २१ जनाको मृत्यु, १८ जना घाइते

इटालीमा बस दुर्घटना हुँदा दुई बालबालिकासहित २१ जनाको मृत्यु, १८ जना घाइते

एजेन्सी : इटालीको भेनिसमा मंगलबार राति बस दुर्घटना हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।

भेनिसका एक अधिकारीका अनुसार युक्रेनीसहित विदेशी पर्यटक बोकेको बस मार्घेरा समुदाय रहेको स्थलतिर जाँदै गर्दा मेस्त्रे शहरको सडकमा दुर्घटना भएको थियो।

भेनिसका अग्निनियन्त्रक टोली कमाण्डर माउरो लुओन्गोका अनुसार बसमा सवार यात्रुहरू आगोमा फसेका थिए। दृश्य अति नै दर्दनाक रहेको र बसबाट शव निकाल्न करिब एक घण्टा लागेको उनको भनाइ छ।

भेनिसको पुरानो तथा ऐतिहासिक शहरबाट नौ किलोमिटर उत्तर पश्चिममा भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको भेनिस शहरका अधिकारी रेनाटो बोरासोले जानकारी दिए।

उनका अनुसार घाइतेलाई उपचारका लागि जिल्लाका विभिन्न पाँच अस्पतालमा पुर्याइएको छ। स्थानीय सञ्चारमाध्यामका अनुसार बस मेस्त्रेको रेल्वे ट्र्याक नजिकै दुर्घटनामा पर्दा केही तल खसी आगलागीसमेत भएको थियो।

असोज १७, २०८० बुधबार १३:१०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।