भृकुटीमण्डपमा तीन दिने ‘फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ एक्स्पो हुँदै
काठमाडौं : भृकुटीमण्डपमा यही असोज १८ गतेदेखि २१ गतेसम्म ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ एक्स्पो आयोजना हुने भएको छ।
यो नेपालमा सबैभन्दा तीव्र बृद्धिदर भएको यस क्षेत्रको एक मात्र एक्स्पो भएको आयोजकले जनाएको छ।
हाल खाद्य, पेय पदार्थ, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरू नाफा तथा राजस्वको राम्रो केन्द्र बन्दै गएका छन्। विगत २० वर्षलाई मात्र नियाल्दा होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, टेक–अवे फूड आउटलेट, सडक खाना बिक्रेताहरू र किराना पसलको संख्या ह्वात्तै बढेको देखिन्छ।
यस्तै, आगामी एक–दुई वर्षमा ३ देखि ५ तारे श्रेणीका २५ भन्दा बढी होटल सञ्चालनमा आउनेछन्।
सन् २००६ र २०११ को अवधिमा वार्षिक ७.३ प्रतिशत वृद्धिदर का साथ खाद्य तथा पेय पदार्थ उद्योग तिव्ररूपमा बढेको छ।
जुन समग्र उत्पादन उद्योगको तुलनामा निकै उच्च हो। नेपालको समग्र अर्थतन्त्र ३ प्रतिशतदेखि ४ प्रतिशतको दरले बढेको बेला एफएमसीजी उद्योग २० प्रतिशतले वृद्धि भएको देखिन्छ।
सन् २०१७/१८ मा नेपालले १३ हजार ५५१ करोड रुपैयाँ बराबरको खाद्य तथा पेय पदार्थ आयात गरेको थियो भने ३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो।
नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५ हजार ५०० रहेको छ। जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन्।
साथै खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३ हजार ८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन्।
एक्सपोमा ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ। जसमध्ये १५ हजार व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ।
एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट, किराना लगायतको सहभागिता हुनेछ।
मेलामा ५ हजार उत्पादन सेवाहरू, २०० कम्पनीहरू रहनेछन् भने १ हजार ८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन्।
असोज १७, २०८० बुधबार १२:४६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।