गुण्डा नाइके ‘रिगल’लाई आममाफी दिएको भन्दै भारतीले सुरु गरिन् अनशन

गुण्डा नाइके ‘रिगल’लाई आममाफी दिएको भन्दै भारतीले सुरु गरिन् अनशन
फाईल फोटो

काठमाडौं : श्रीमान् चेतन मानन्धरको खुँडा प्रहार गरि दिनदहाडै हत्या गर्ने गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन्।

माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताएकी छन्।

२०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा गुण्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो।

अभियुक्त ढकालले नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। घटना दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा गुण्डा नाइके रिगलसहित छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका थिए।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी उनी सोही निर्णयविरुद्ध अनशन बसेकी हुन्।

असोज १७, २०८० बुधबार ११:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।