श्रीलङ्कालाई हराउँदै अफगानिस्तान एसियाड पुरुष क्रिकेटको सेमिफाइनलमा
काठमाडौं : बलियो श्रीलङ्कालाई हराउँदै अफगानिस्तान चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ।
अफगानिस्तानले बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा श्रीलङ्कामाथि आठ रनको रोमाञ्चक जित हासिल गर्यो।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय १६ रन बनाएको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने १९.१ ओभरमा अलआउट हुनुअघि एक सय आठ रनमात्र बनाउन सक्यो।
श्रीलङ्कालाई लक्ष्यसम्म पुग्न नदिन अफगानिस्तानका बलर गुलबदिन नाइब र क्वाइस अहमदले तीन—तीन विकेट लिए।
करिम जनत, जहिर खान र सराफुद्दिन असरफले पनि एक—एक विकेट हात पारे। श्रीलंकाले पालीको निराशाजनक सुरुआत गरेको थियो।
टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै तीन प्रभावशाली विकेट गुमाएको श्रीलङ्काका लागि कप्तान सहान अराचचिगेले सर्वाधिक २२ रन बनाएका थिए।
त्यसअघि अफगानिस्तानका लागि नुर अली जदरानले अर्धशतक बनाएका थिए।
उनले ५२ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काएका थिए। सहिदुल्लाहले पनि टोलीको खातामा २३ रन थपेका थिए। मोहम्मद सहजादले २० रन बनाए।
श्रीलङ्काली बलर नुवान थुसराले चार विकेट लिएका थिए। भारत र पाकिस्तान यअसघि नै सेमिफाइनलमा पुगिसकेका छन्।
असोज १७, २०८० बुधबार ११:१५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।