भारत-क्यानडा तनावमा अमेरिकाले भन्यो- ‘आरोप गम्भीर छन्, छानबिन आवश्यक छ’

भारत-क्यानडा तनावमा अमेरिकाले भन्यो- ‘आरोप गम्भीर छन्, छानबिन आवश्यक छ’

एजेन्सी : अमेरिकाले खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतमाथि लगाइएको क्यानडाको आरोपलाई ‘गम्भीर’ भन्दै छानबिन गर्नुपर्ने बताएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले पत्रकार सम्मेलनमा भने, ‘विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानसँग यस विषयमा उनले छलफल गरेका थिए। हामी यो विषयमा दुई देशहरूले नै द्विपक्षीय मामिलामा कुरा गरुन् भन्ने चाहन्छौँ।’

किर्बीले अगाडि भने, ‘यी आरोपहरू गम्भीर छन् र राम्ररी छानबिन गरिनुपर्छ। हामीले यसअघि पनि यस अनुसन्धानमा सक्रिय रूपमा सहभागी हुन भारतलाई अपील गरेका छौँ।’

निज्जरको १८ जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा हत्या भएको थियो।

गत महिना क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्सीको हात हुनसक्ने बताएका थिए।

त्यसयता भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण छ। भारतले ट्रुडोको आरोप अस्वीकार गरेको छ।

भारतको एक भागलाई टुक्र्याएर छुट्टै देश खालिस्तान बनाउने विषयमा निज्जरले समर्थन गर्दै आएका थिए। भारतले निज्जरलाई आतंकवादी भन्दै आएको थियो।

असोज १७, २०८० बुधबार ०९:५७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।