मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु, राजमार्ग अवरुद्ध

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु, राजमार्ग अवरुद्ध
फाइल तस्बिर

धादिङ : धादिङको गजुरी गाउँपालिका-२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ।

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२-००१ ख ६४१३ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिएको थियो। मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए।

घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।

असोज १७, २०८० बुधबार ०९:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।