रिकभर हुँदै ललित, सन्ध्या आरती हेर्न पुगे पशुपतिनाथ

रिकभर हुँदै ललित, सन्ध्या आरती हेर्न पुगे पशुपतिनाथ

काठमाडौं : नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य सदस्य ललित राजवंशी चोटबाट रिकभर हुँदै गएका छन्।

असोज ४ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललितको क्लाभिकल बोन (ब्युटिबोन)मा चोट लागेका उनी अहिले रिकभर हुँदै गएका हुन्।

असोज ४ गते नै राजवंशीलाई ग्वार्कोस्थित बीएन्डबी अस्पताल लगेर शल्यक्रिया गरिएको थियो। ८ गते अस्पतालबाट डिस्चार्ज भएका उनी १९औं एसियाली खेलकुलमा सहभागी हुन पाएनन्।

अहिले भने उनी रिकभर हुँदै गएका छन्। बुधबार साँझको सन्ध्या आरती हेर्नका लागि उनी पशुपतिनाथ पुगेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पशुपतिको सन्ध्या आरतीका केही क्लिपसमेत सेयर गरेका छन्।

राजवंशी अहिले पनि नेपाल क्रिकेट संघ (क्यान)को निगरानीमा छन्। उनको लागि एक फिजियोको व्यवस्था गरिएको छ।

ललितलाई टी–२० विश्वकपअघि नै मैदान फर्काउने आफूहरू प्रयासरत रहेको क्यानका मेडिकल कोअर्डिनेटर डा। अभिषेकराज सिंहले बताए।

सन् २०१८ मा नेपाली टिमबाट ‘डेब्यु’ गरेका ललितले २३ एकदिवसीय अन्तर्राष्ट्रिय र १२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एकदिवसीयमा २८ र टी–२० मा १० विकेट लिएका छन्।

असोज १७, २०८० बुधबार ०९:१०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।