बझाङ भूकम्प अपडेट : जयपृथ्वी राजमार्ग अवरुद्ध, ६ जना घाइते

बझाङ भूकम्प अपडेट : जयपृथ्वी राजमार्ग अवरुद्ध, ६ जना घाइते

बझाङ : मंगलबार दिउँसो आधा घण्टाको अन्तरालमा आएका दुई भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन्। 

चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

सत्यवादी मा.वि. भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। 

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए।

भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।  राजमार्गको ठाउँ-ठाउँमा पहिरो जाँदा गाडी आवतजावत रोकिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपास केन्द्रविन्दु बनाएर गएको हो।

त्यसको केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ।

भूकम्पले गरेको क्षतिको विस्तृत विवरण आउन अझै बाँकी छ। 

१६ असोज, २०८०, १७:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।